जुगल हिमाल आरोहण सुरु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुुगल हिमाल आरोहण आजबाट सुरु भएको छ । जुगल गाउँपालिका वडा न २ मा रहेको यो हिमाल आरोहणका लागि सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सातजनाको टोली राजधानी काठमाडौंबाट जुगल गाउँपालिकाको गुम्बामा पुगे को छ ।
६ हजार १ सय ५१ मिटर उचाई रहेको यो हिमालको दोस्रोपटक आरोहण सुरु भएको हो । यसअघि २०७५ साल चैत्र २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा पहिलोपटक सफल आरोहण भएको थियो ।
“एक सातामा जुगल हिमाल आरोहण” नाराका साथ सुरु भएको जुगल हिमाल आरोहण टोलीले जुगल हिमाल श्रृंखला अन्तर्गतको ११ पिक मध्य ग्याल्जेन पिकको आरोहण गर्नेछ ।
आरोही लामाका अनुसार आज जुगल गाउँपालिकाको तेम्बाथानमा बसेर भोलि बेश क्याम्प पुगी शुक्रबारदेखि टोलीले हिमाल आरोहण सुरु गर्नेछ ।
राजधानी काठमाडौंबाट १४५ किलोमिटर दुरीमा रहेको जुगल हिमाललाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसारका लागि यो आरोहणले थप टेवा पुग्ने गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङको विश्वास छ ।
आरोहणलाई थप सहज बनाउन गाउँपालिकाले जुगल हिमालको फेद नेपेमासालसम्म मोटरबाट पुर्याउने योजना पनि अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्