वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय बनाउने प्रतिवद्धता

रुपन्देही । व्यवस्थापन विषय अध्यापनमा यस क्षेत्रमा अलग्गै पहिचान बनाएको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयमा रुपान्तरण गर्न सरोकारवालाको सक्रियता बढेको छ ।
२०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट कोचिङ कक्षाको रुपमा संचालन गरिएको यो क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो ।
अहिले स्नातक र स्नातकोत्तर तहमा करिब एकदर्जन कार्यक्रम संचालन गर्दै आएको यो क्याम्पसमा ४५ सय विद्यार्थी अध्ययतरत रहेका छन् ।
केही दिनअघि क्याम्पस व्यवस्थापन तथा विकास परिषदको दशौं परिषद्सभाले पनि मानित विश्वविद्यालयमा रुपान्तरण गर्न सबै क्षेत्रबाट सहयोग जुटाउने निर्णय गरिसकेको छ ।
सो क्याम्पसका निवर्तमान प्रमुख तथा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले क्याम्पसलाई मानित विश्वविद्यालय बनाउने १० वर्ष पहिलेको सपनालाई अहिलेको संचालक समितिले पूरा गर्न आग्रह गर्नुभयो ।
यसक्षेत्रको मात्र नभई देशकै शिक्षा क्षेत्रको विकासको लागि महत्वपूर्ण योगदान पुराएको उल्लेख गर्दै मानित विश्वविद्यालयमा रुपान्तरणका लागि सबै क्षेत्रबाट सहयोग उपलब्ध हुने उहाँको भनाइ छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लुम्बिनी वाणिज्य क्याम्पसको विकास र विस्तारको लागि उपमहानगरपालिकाले जुनसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । सुवेदीले वाणिज्य क्याम्पसलार्ई मानित विश्वविद्यालयमा रुपान्तरण गर्न आवश्यक जग्गा व्यवस्थापन गर्ने काम भइरहेको बताउनुभयो ।
क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले यस शैक्षिक पहिचान उचो बनाउन यसको स्तरोन्नतिमा लागिरहेको बताउनुभयो ।
स्थापनाको चारवर्ष आईकम कक्षा संचालन गरेको यो क्याम्पसले २०४२ सालमा विकम, २०५७ सालमा स्नातकोत्तर तहको कक्षा संचालन गरेको थियो ।
क्याम्पसले २०७० सालमा सेमेष्टर प्रणाली अन्तर्गतको विविएम, २०७४ सालमा एमबिए विएफ, २०७६ सालमा स्वायत्त कार्यक्रम अन्तरगत बिबिए एफए र बिबिएम एप्लाईडका कार्यक्रम संचालन गरिरहेको क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्याय बताउनुहुन्छ ।
२०७६ सालमै एमबिएस फाइनान्स, बिएमएस र बिबिएम एप्लाईडको परीक्षा स्वायत्तता प्राप्त गरेको छ । २०६३ सालमै ए स्किममा पर्न सफल यो क्याम्पसले २०६८ र २०७५ साल गरि दुईपटक विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्रमाणपत्र प्राप्त गरिसकेको छ ।
त्यस्तै २०७५ सालमा सामुदायिक क्याम्पसतर्फ सर्वोत्कृष्ट घोषित भएको थियो भने लुम्बिनी प्रदेश सरकारबाट २०७६ सालमा प्रदेश प्रज्ञा पदक द्धितियबाट सम्मानित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्