तपाईँ सुन्दै हुनुहुन्छः

जग्गा हेर्ने बाहानामा कुटपिट गरी हत्या गर्ने तीन पक्राउ

भक्तपुर।चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवालाई जग्गा हेर्ने बाहानामा कुटपिट गरी हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

७ दिनपछि पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २८ वर्षीय रमेश तामाङ, सिन्धुपाल्चोककै ३७ वर्षीय कामी शेर्पा र ३० वर्षीय प्रेम तामाङ रहेका छन् ।महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले उनीहरुलाई बौद्धबाट पक्रेको र हत्याको मुख्य योजनाकार कामी शेर्पा रहेको बताउनुभयो ।

सुडालमा जग्गा खोज्दै गएका तीन जनाको कुटपिटबाट वाईवाको बिहीबार ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
कुटपिटबाट गम्भीर घाइते वाईवालाई स्थानीयले उपचारका लागि मध्यपुर अस्पताल थिमी लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको थियो ।

जग्गा देखाउने क्रममा निर्घात कुटेर बेहोस बनाएपछि वाईवाले हातमा लगाएको सुनको ब्रासलेट, सुनको सिक्री र दुई थान मोवाइल लिएर उनीहरु फरार भएका थिए । हत्या गरिएका वाईबा सुडालस्थित आफ्नै घरमा किराना र मदिराको पसल संचालन गर्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button