ठाँटीबासीले नापी भएको ३२ बर्षपछि लालपुर्जा पाए

अछाम । अछाम जिल्लाको मेल्लेख गाउपालिका वडा नम्बर ३ ठाँटीका स्थानीयले पहिलो पटक आफ्नो जग्गाको जग्गा धनी प्रमाण पुर्जा पाएका छन् । ३२ बर्ष पहिले २०४५ सालमा नाप नक्सा भएर प्रमाण पुर्जा वितरणको तयारी भए पनि सिमा विवादका कारण अवरुद्ध कार्य अहिले सफल भएको हो । ठाँटीका ४ सय ७ घरधुरी जग्गाधनि प्रमाण पुर्जा बिहिन थिए ।
२०४५ सालमा जग्गा नापि भई प्रमाण पुर्जा वितरणको अन्तिम चरणमा रहेको अवस्थामा दुई गाविस बीच सिमाना विवाद भएको थियो ।
तत्कालीन ठाँटी र कस्कोट गाविसबीच सिमाना विवाद भएपछि पुर्जा वितरणको काम रोकिएको थियो । पछि शशस्त्र द्वन्द्वको बेला २०५८ सालमा अछाम आक्रमण हुँदा सम्पूर्ण कागजात जलेपछि ठाँटीबासीको प्रमाण पुर्जा पाउने सम्भावना टरेको थियो ।

आक्रमणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय र नापी कार्यालय पनि ध्वस्त भएपछि जिल्लाका सम्पुर्ण प्रमाणहरु नष्ट भएका थिए । तत्पश्चात जिल्लाको धेरै जग्गाहरुको लालपुर्जा नष्ट भएको थियो त्यो संगै मेल्लेख गाउपालिकाको वडा नं ३ साविकको ठाँटी गाविस पुरै लालपुर्जा विहिन भएको थियो ।
गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराको विशेष पहलमा ठाँटीमा सोमबार एक समारोहका बिच २ सय ५० घरधुरीलाई लालपुर्जा हस्तान्तरण गरिएको छ । अन्य १ सय ५७ घरधुरीलाई वितरण गरिने प्रक्रियामा रहेको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले जानकारी दिनुभयो ।
पहिलो पटक स्थानीयले जग्गाधनी प्रमाण पुर्जा पाएका भन्दै यसबाट उनीहरुलाई जग्गा सम्बन्धि कारोबार गर्न सजिलो भएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनु भयो । पहिलो पटक प्रमाण पुर्जा प्राप्त गर्न सफल भएकोमा ठाँटीबासीलाई बधाई दिँदै प्रमुख जिल्ला अधिकारी उपाध्यायले यति लामो समय लाग्नु सरकारी संयन्त्रको कमजोरी भएको उहाँको गुनासो छ । नागरिकलाई सहज र छरितो सेवाका लागि सबैले जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।
वडा नम्बर ३ ठाँटीका वडा अध्यक्ष केशर बहादुर शाहले लामो समयदेखि आफ्नो वडाको प्रमुख समस्याका रुपमा रहेको प्रमाण पुर्जा विहिनताको अवस्थाबाट पार पाईएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
अझै पनि जिल्लामा नापनक्साको समस्या रहेको र करिब १० हजार घरधुरी प्रमाणपुर्जा पाउन नसकिरहेका जिल्ला नापी अधिकृत धर्मराज ओझाले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्