तपाईँ सुन्दै हुनुहुन्छः

नगरप्रमुख र गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

परासी- नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेशनल पथल्याब बुटवलमा सोमबार गरिएको पिसीआर परीक्षणको क्रममा उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

रुघाखोकी र ज्वरो आएपछि केही दिनदेखि आराम गरिरहनुभएका नगरप्रमुख बस्यालले सोमबार स्वाब परीक्षण गर्दा आफू सङ्क्रमित भएको पुष्टि गर्नुभएको छ । उहाँ अहिले होम आइसोलेसनमा हुनुहुन्छ ।

आफूसँग सम्पर्कमा रहनुभएकालाई सतर्क र सजग रहन आग्रह गर्दै प्रमुख बस्यालले छिट्टै कोरोना जितेर नागरिकको सेवामा फर्किने बताउनुभएको छ ।

कोरोनालाई हेल्चेक्रयाइँ नगर्न भन्दै कोरोनाको लक्षणहरु देखिएमा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरप्रमुख बस्यालले सबैमा अनुरोध पनि गर्नुभयो । तुलसीपुर– दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा अध्यक्ष पौडेलसहित प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, इञ्जीनियर राजेश देवकोटा, गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सिद्धबहादुर केसी, बबई गाउँपालिका वडा नं २ का वडाध्यक्ष चिन्तामणि शर्मासहित छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  जिल्लामा सोमबार मात्रै ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button