इच्छाकामना–६ कुयालघारीमा पहिलोपटक बिजुली
भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–६ कुयालघारीमा पहिलोपटक बिजुली बत्ती बलेको छ । प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले सोमबार ट्रान्सफर्मरको स्वीच अन गरेर औपचारिक उद्घाटन गर्नुभयो । बिजुली बलेसँगै कुयलघारीका ८७ घर उज्यालो भएका छन् । गाउँमा पहिलोपटक बत्ती बलेपछि स्थानीयवासी खुशी भएका छन् ।
रु ३१ लाखको लागतमा ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत गाउँमा बिजुलीबत्ती बालिएको हो । सो ठाउँमा कोरोना कहरका बीच पनि विद्युतीकरणको काम तीव्र पारिएको थियो । सो अवसरमा प्रतिनिधिसभा सदस्य पोखरेलले कुयालघारीमा बिजुली बल्दा अत्यन्त हर्षित भएको बताउँदै आफूले गाउँलाई उज्यालो बनाउन गरेको मेहेनत पूरा भएको बताउनुभयो ।
विभिन्न अप्ठ्यारा र अवरोध पन्छाउँदै लकडाउन र कोरोना कहरकै बीच काम गर्ने विद्युत् प्राधिकरण, ठेकेदार कम्पनीलाई धन्यबाद दिँदै उहाँले सडक र बिजुली पुगेपछि दुर्गमका समस्या केही कम भएको बताउनुभयो ।
उहाँले अर्को वर्षभित्र इच्छाकामना गाउँपालिकामा विद्युतीकरणको काम सम्पन्न हुने बताउनुभयो । इच्छाकामना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले वषौँंदेखिको बिजुली बाल्ने सपना पूरा हुँदा आफू निकै खुशी भएको बताउँदै गाउँमा थप आयआर्जनको बाटो खुलेको बताउनुभयो । सबैको पहल, प्रयास र हातेमालोले गाउँमा ढिलै भए पनि बिजुली पुग्दा स्थानीयवासी निकै हर्षित भएको उहाँले बताउनुभयो ।
उहाँले आधामारा, तीनबाङ र बारसीभन्ज्याङमा बिजुली बत्ती बलिसकेको जानकारी दिनुभयो । अझै चार गाउँमा बत्ती बल्न बाँकी रहेको उहाँले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले बिजुली नहुँदा कुयलघारीका नागरिकले भोगेको पीडा देखेर आफूहरुले कोरोना कहरकै बीच काम सम्पन्न गराउने अठोट लिएर अघि बढेको बताउनुभयो ।
सो ठाउँमा ५० केभिएको ट्रान्सफर्मर र डेढ किलोमिटर ११ हजार भोल्टेजको लाइन जडान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले इच्छाकामनाका सबै वडामा विद्युत् पुगेको भन्दै बाँकी गाउँमा क्रमशः काम गरिने बताउनुभयो । सो ठाउँमा बिजुली बाल्नका लागि २०७६÷७७ मा बोलपत्र भएर काम अघि बढेको थियो । इच्छाकामना गाउँपालिकामा विद्युतीकरणका लागि केन्द्रीय सरकारले रु १२ करोड बजेट विनियोजन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्