तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक वनलाई नमुनायोग्य बनाउँदै बागमती प्रदेश सरकार

चितवन । बागमती प्रदेश सरकारले नमुना सामुदायिक वन बनाउन लागी परेको बागमती प्रदेशका सांसद तथा शिक्षा, वन वातावरण तथा कृषि समितिका सभापति घनश्याम दाहालले बताउनु भएको छ ।

नमुना सामुदायिक वन बनाएर सो क्षेत्रका बासिन्दाको आयआर्जन र जीवनस्तर उकास्दै दिगो वन व्यवस्थापन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको समेत उहाँले बताउनुभयो ।

पूर्वी चितवनको कालिका २ मा रहेको थानखोला सामुदायिक वनमा लगाइएको जडिबुटीको अवलोकन गर्दै उहाँले सामुदायिक वनको विकास र व्यवस्थापन राम्रोसँग गर्न सके स्थानीयको जीवनस्तर उकास्न सकिने बताउनुभयो ।

सरकारले बरण्डाभार क्षेत्र अन्तर्गतका सामुदायिक वनलाई पनि समेटेर बजेट विनियोजन गरेको बताउँदै नमुना सामुदायिक वन बनाउने योजनामा सबैले प्रदेश सरकारलाई साथ दिन उहाँले आग्रह गर्नुभयो ।

प्रदेश सरकारले विनियोजन गरेको बजेट लिएर वन व्यवस्थापन गर्न उहाँले अनुरोध गर्नुभयो ।

अनुगमनको क्रममा बागमती प्रदेशका सांसद विजय सुवेदीले सामुदायिक वनको उत्पादनलाई उद्योग, रोजगार तथा आयआर्जनसँग जोडेर स्थानीयको जीवनस्तर उकास्नुपर्ने बताउनुभयो । परम्परागत वनलाई व्यवस्थित गर्दै आयमूलक काममा सामुदायिक वनलाई जोड्न सके मात्र सामुदायिक वनको महत्व बढेर जाने उहाँले बताउनुभयो ।

सोही अवसरमा अर्को प्रदेश सांसद मिलन बाबु श्रेष्ठले जडिबुटी, फलफूलहरुको उत्पादनमा जोड दिई आएको आम्दानीबाट विपन्नको जीवनस्तर उकास्न सामुदायिक वन कोसेढुङ्गा हुने बताउनुभयो ।

कार्यक्रममा कालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठले कम आयश्रोत भएका वनहरुलाई नमुना सामुदायिक वनको रुपमा विकास लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष भरत ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका उपमेयर कमला भट्टराई, वडा नं. २ का वडा अध्यक्ष सोम बहादुर गुरुङ, कालिका वडा नं. ६ का वडा सदस्य दशरथ सापकोटा, थानखोला सामुदायिक वनका अध्यक्ष कृष्ण भट्ट लगायतको उपस्थिति रहेको थियो ।

चितवनमा हाल ९३ वटा सामुदायिक वन रहेका छन् भने कालिका नगरपालिकामा मात्र २२ वटा सामुदायिक वन रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button