तपाईँ सुन्दै हुनुहुन्छः

दिपायल–धनगढी उडान शुक्रबारदेखि

डोटी-वषौंदेखि बन्द रहेको डोटीको दिपायल विमानस्थल असोज ३० गते अर्थात यसै साताको शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ ।हाललाई दिपायल–धनगढी रुटमा समिट एअरको विमानले उडान गर्ने भएको हो ।

वि.सं. २०३० सालबाट सञ्चालनमा आएको दिपायल विमानस्थल बिचैमा बन्द भएको करिब डेढ दशकपछि सञ्चालनमा आउन लागेको छ ।असोज ३० गते शुक्रबार १८ जना यात्रु बोक्ने क्षमताको समिट एअरको विमान बिहान १०ः३० बजे धनगढीबाट दिपायल आउने र दिपायलबाट ११ः३० बजे धनगढीका लागि उड्ने तालिका रहेको छ ।

हप्तामा एक दिन उडान हुने विमानको टिकटका लागि डोटीको दिपायल पिपल्लामा रहेको होटेल रिभर साईडका सञ्चालक नन्दन सिं कार्की सम्पर्क व्यक्तिका रुपमा रहेका छन् । धनगढीको भाडा ३ हजार २ सय निर्धारण गरिएको छ । टिकट बुकिङ्ग गर्न ०९४–४१२०६८, ९८५८४२२४२८, ९८०१७२२४२८ मा सम्पर्क गर्न सकिने जनाईएको छ ।

वि.सं. २०७० सालमा संविधान सभा सदस्यका रुपमा निर्वाचित भईसकेपश्चात यसपूर्व कच्ची रहेको दिपायल विमानस्थल कालोपत्रेका लागि तत्कालिन पर्यटनमन्त्री कृपाशुर शेर्पासँगको विशेष अनुरोधमा आफुले पहल गरेर ८ करोड बजेट विनियोजन गराई कालोपत्रे सम्पन्न भई उडान शुरु हुन लागेको प्रतिनिधी सभा सदस्य प्रेम आलेमगरले बताउनुभयो ।

हाललाई ४ सय ९० मिटर लम्बाई भएको विमानस्थललाई एक हजार मिटर लम्बाई हुने गरी विस्तार गर्न आफुले फेरी पहल गरिरहेको उहाँले बताउनुभयो । विमानस्थल कालोपत्रे भएपश्चात यहि असोज १७ गते संघीय सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री योगेश भट्टराईले समिट एअरकै विमानबाट परीक्षण उडान भरेर उद्घाटन गरेका गर्नुभएको थियो ।

मन्त्री भट्टराईले विमानस्थल विस्तार र स्तरोन्नतीका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
यसभन्दा पहिले पनि तत्कालिन पर्यटन मन्त्री लोकेन्द्र बिष्टले विमानस्थल नियमति सञ्चालन गर्ने भनेता पनि वाचा पूरा नभएकाले यस क्षेत्रका जनतामा नियमित उडान हुने वा नहुनेमा भने शंका कायमै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button