विकट ठाउँमा गएर विद्युत मिटर बाँडदै भोजपुर प्राधिकरण
भोजपुर । विद्युत सेवाबाट वञ्चित परिवारहरुका लागि विकट गाउँमा नै पुगेर नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले विद्युत मिटर वितरण गर्न शुरु गरेको छ । प्रधिकरणले आफनै घर आँगनमा आएर मिटर वितरण गरेकामा स्थानियहरु समेत खुशी देखिएका छन ।
विद्युत मिटर गाउँमै पाएका तुंगेछा वडा नम्वर ८ का रत्नबहादुर श्रेष्ठले खुशी हुदै भन्नु भयो “गाउँमा बत्ति बलेकोमा हामी त्यसै खुशी छौ, त्यसमा पनि मिटर लिनका लागि २ दिन लगाएर सदरमुकाम जानु परेन ।” श्रेष्ठ मात्र होइन मिटर लिनका लागि सवै कागजात हातमा लिएर आउनु भएकी इन्द्र कुमारी राईले भन्नु भयो “भोजपुरबाट संखुवासभाको बाटो हुदै सरहरु आएर गाउँमै मिटर दिनु, बत्ति बाल्न पाइने भईयो हामीलाई खुशी छ ।”
प्राधिकरणले जिल्लाको उत्तरमा रहेको षडानन्द नगरपालिका वडा नम्वर ८ तुङगेछाका करिव २ सय घर परिवारलाई गाउँमा नै गएर विद्युत मिटर वितरण गरेको छ । सडकका कारण यातायातका साधन समेत संचालनमा आउँन नसकेको र कोरोनाको जोखिमलाई समेत ध्यान दिएर गाउँ मै गएर मिटर वितरण गरिएको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रविन बाबु घिमिरेले बताउनु भयो ।
नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार जिल्लाको षडानन्द नगरपालिकामा हालसम्म ५८ प्रतिशत मात्र विद्युतीकरण भएको छ भने भोजपुर जिल्लामा रहेका २ नगरपालिका र ७ गाउँपालिकामा हालसम्म ४७ प्रतिशत मात्र विद्युतीकरण भएको छ ।








प्रतिक्रिया राख्नुहोस्