तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा राँगा चोरी गर्ने पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुका विभिन्न स्थानबाट पटकपटक राँगा चोरी गर्ने तथा काटेर मासु बेच्ने व्यक्ति पक्राउ परेका छन् ।

सोलुदूधकुण्ड नगरपालिकाका विभिन्न स्थानबाट राँगा चोरेर बेच्ने सोलुदूधकुण्ड नगरपालिका–४ रोक्दिङका २८ वर्षिय रामबहादुर श्रेष्ठ तथा तिङ्ला घर भई सेर्गामा बस्दै आएका पुर्णबहादुर भुजेल र सल्लेरीमा मासु व्यवसाय सञ्चालन गर्दै आएका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ का कुमारबहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

सोलुदूधकुण्ड नगरपालिका–४ रोक्दिङका श्रेष्ठले असोज २१ गते दोर्पुका दावासाङमु तामाङको करिब ६० हजार पर्ने एक राँगो चोरी गरी बेचेको, असोज १४ गते सोलुदूधकुण्ड नगरपालिका–३ खोलाघारीका काजी तामाङको ४३ हजार रुपियाँ मूल्य पर्ने एक भैँसी चोरी गरी श्रेष्ठले बेचेको र भैँसी खरिद गरी काट्ने कसुरमा ओखलढुङ्गाका मगरलाई पक्राउ गरिएको हो ।

त्यस्तै, असोज १९ गते सोलुदूधकुण्ड नगरपालिका–४ बस्ने मङ्गल विश्वकर्माको ३५ हजार रुपियाँ मूल्य बराबरको राँगो चोरी गरी बेचेको आरोपमा तिङ्लाका भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि अनुसन्धान जारी राखिएको प्रहरी निरीक्षक दर्नालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button