तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतगृह निर्माणको काम प्रभावित

दमौली- तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम प्रभावित भएको छ । एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोका मजदुर आन्दोलनमा उत्रिएपछि विद्युतगृह निर्माणको काम प्रभावित भएको हो ।

कोरोना परीक्षणका लागि पिसिआर गर्नुपर्ने माग सहित मजदुर शुक्रबारदेखि आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो ।

आयोजनाका एक मजदुरलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सबै मजदुर र परिवारको पिसिआर परीक्षण गर्न माग गर्दै मजदुर आन्दोलित भएका छन् ।

शुक्रबार दिउँसोदेखि आन्दोलित मजदुर साँझ क्याम्पमा फर्किएका छन् भने शनिबार पुनः छलफलको तयारी गरिएको छ । आयोजना प्रमुख घिमिरेका अनुसार शनिबार यस क्षेत्रका जनप्रतिनिधि, निर्माण कम्पनी, मजदुरलाई राखेर मागका विषयमा सहमति गराउने प्रयास गरिनेछ ।

आयोजनाको प्याकेज दुई अन्तर्गत सिनो हाइड्रोले विद्युतगृहको काम गरिरहेको छ । विद्यृतगृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम केही समय अगाडि मात्रै सम्पन्न भएको थियो ।

सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि सुचारु रहेको घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ ।

प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ ।

आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ ।

आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button