तपाईँ सुन्दै हुनुहुन्छः

दैजी–जोगबुढा सडक खण्डको कालोपत्रेको तयारी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशकै गौरवको योजना अन्तर्गत पर्ने कञ्चनपुरको दैजी–जोगबुढा सडक खण्डको कालोपत्रेको तयारी तिव्र रुपमा भइरहेको छ ।

लामो समयदेखि अलपत्र परेको सडक संघ र प्रदेश कसले निमार्ण गर्ने विवादका बीच प्रदेश सरकारले सडक निमार्ण गर्न लागेको हो ।

संघ प्रदेश बीच कसले निमार्ण गर्ने कुरामा अल्झिएको दैजी जोगवुढा सडक खण्ड लामो समयको अन्तरालपछि प्रदेश सरकारको लगानीमा निमार्णसँगै कालोपत्रेको समेत तयारी भइरहेको छ ।

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका र डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकालाई जोड्ने उक्त सडकको कालोपत्रेको तयारीको काम भने तीव्र गतिमा भइरहेको बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले बताउनु भएको छ ।

बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले कोरोना कहरले केही निर्माण कार्यमा ढिलाई भएपनि हाल भने निर्माण कम्पनीले कामलाई गति दिएको बताउनु भएको छ । नगर प्रमुख चन्दका अनुसार बेदकोट तालको तल चोरपानीदेखि मुनितिरको सडकमा बेस बिछाउने काम भइरहेको छ ।

यस्तै बेस बिछाए पनि प्राइम हाल्ने र प्राइम हालेको तीन/चार दिन भित्रमा कालोपत्रे गर्ने योजना निर्माण कम्पनीको रहेको नगर प्रमुख चन्दको भनाई छ ।

दैजी जोगवुढा सडकको दैजीदेखि लिप्नासम्म झण्डै १७ किलोमिटर सडक निर्माणका लागि नागार्जुन कन्स्ट्रक्सनसँग १६ करोेड ३८ लाख २५ हजार आठ सय ७० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार उक्त सडक निर्माण २०७६ असारसम्ममा सम्पन्न गरिसक्नुपर्नेमा पूरा हुन नसक्दा योजना निर्माणको समय सीमा एक वर्ष थप गरिएको छ ।

यस्तै दैजी–जोगवुढा सडक–खण्ड कालोपत्रे भइसकेपछि पहाडि जिल्लामा आवत जावत गर्न सहज हुनेछ । तत्कालीन समयमा दैजी–जोगबुढा सडक योजनाको रूपमा शुरू भएको यो सडक दुई भागमा विभाजन गरी काम भइरहेको छ ।

कञ्चनपुरतर्फ दैजी–लिप्ना सडक र डँडेलधुरातर्फ लिप्ना–जोगबुढा खण्डमा काम भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button