जग्गा किनबेच रोक्न मुख्यमन्त्री पोखरेलको निर्देशन

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा गुरुयोजनाको टुंगो नलाग्दासम्म गैरकानुनी किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिनुभएको छ ।
प्रदेशको राजधानी र नामाकरणपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई निर्देशन दिनुहुँदै उहाँले अब गुरुयोजनाको टुङ्गो नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने बताउनुभएको हो ।
प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव प्रदेशसभामा पेश गर्दा नै मुख्यमन्त्री कार्यालयले पत्रचार गरेर जग्गा किनबेच र कित्ताकाटमा रोक लगाइएको थियो । दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडानम्बर १, २ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडानम्बर ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको हो ।
कानुनीरुपमा जग्गाको किनबेच रोक लगाइसकेको भएपनि गैरकानुनीरुपमा किनबेच हुनसक्ने भएकाले रोक्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ ।
राप्ती उपत्यकाको राप्ती गाउँपालिका, गढवा र शितगंगाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको उहाँले बताउनुभयो ।
राप्ती उपत्यका भन्नाले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडानम्बर ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो ।
आज विभिन्न सञ्चार माध्यममा राजपत्रमा राप्ती उपत्यका देउखुरी नाम आएपछि मुख्यमन्त्री पोखरेलले त्यसको खण्डन गर्नुहुँर्दै राजधानी प्रदेशसभामा पारित भए अनुसार नै हुने बताउनुभएको हो ।
गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमशः बनाइँंदै जाने उहाँले बताउनुभयो । नक्साको डिजाइन, गुरुयोजना र ल्याण्डपुलिङजस्ता काम क्रमशः अघि बढ्ने उहाँले बताउनुभयो ।
राजधानी र नामको टुङ्गो सही ढङ्गले लगाएर सङ्घीयताको वास्तविक कार्यान्वयन गर्न प्रदेश ५ सफल भएको र त्यसको लागि मुख्यमन्त्री पोखरेलले सबैलाई धन्यवाद दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्