सभामुख सापकोटा र साइप्रसका प्रतिनिधिसभाका अध्यक्षबीच शुभकामना आदानप्रदान

काठमाडौं । नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध कायम भएको ४० बर्ष पूरा भएको अवसरमा सभामुख अग्निप्रसाद सापकोटा र साइप्रसको प्रतिनिधिसभाका अध्यक्ष डेमेट्रिस सिलौरिस (DEMETRIS SYLLOURIS )बीच शुभकामना आदान प्रदान भएको छ ।
उहाँहरुबीच आज भएको टेलिफोन सम्वादका क्रममा सभामुख सापकोटाले कुटनीतिक सम्बन्धको ४०औं बर्षगाँठका अवसरमा साइप्रसका समकक्षीलाई बधाई ज्ञापन गनुहुँर्दै दुई देशबीच आपसी विश्वासका आधारमा सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।
उहाँले साइप्रसले युरोपियन युनियनको सदस्यका रुपमा विश्व मानचित्रमा महत्वपूर्ण उपस्थिति जनाएको उल्लेख गर्नुभयो । सभामुख सापकोटाले साइप्रसमा १० हजार बढि नेपाली कामदारहरु पुगिसकेको सम्बन्धमा सरकार–सरकारबीच समन्वय गरेर नेपाली कामदार पठाउँदा व्यबस्थापनमा सहज हुने धारणा राख्नुभयो ।
उहाँले साइप्रसले नेपाली विद्यार्थीहरुलाई अध्ययनको अवसर सृजना गरेको र कोभिड–१९ का बेला साइप्रसमा रहेका नेपालीलाई सहयोग र संरक्षण प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्वादका क्रममा सभामुख सापकोटाले नेपालको संघीय संसद र साइप्रसको संसदबीच संसदीय मैत्री समूह गठनका लागि प्रस्ताव राख्नुभयो ।
उहाँले विश्व समुदाय कोभिड–१९ महाव्याधिको चुनौतीसँग लडिरहेको उल्लेख गनुहुँदै यसका कारण दुई देशबीचका उच्चस्तरीय भ्रमण समेत प्रभावित भएको बताउनुभयो । सभामुख सापकोटाले अवस्था सहज भएपछि अध्यक्ष सिलौरिसको नेपाल भ्रमण हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्वादका क्रममा साइप्रसको प्रतिनिधिसभाका अध्यक्ष डेमेट्रिस सिलौरिसले दुई देशबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कोभिड–१९ का कारण सगरमाथा सम्वादका लागि आफ्नो निर्धारित नेपाल भ्रमण रोकिएको स्मरण गर्नुभयो ।
उहाँले काम र अध्ययनका सिलसिलामा १० हजार बढि नेपाली साइप्रसमा रहेको जानकारी गराउँदै नेपालबाट औपचारिक पत्र प्राप्त भएपछि सरकार–सरकारबीच समन्वयका आधारमा कामदार लैजाने प्रक्रिया अघि बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष सिलौरिसले संसदीय मैत्री समुह गठनको प्रस्तावलाई सकारात्मक रुपमा लिंदै संसदीय समूह गठन प्रक्रिया आरम्भ गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्