दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन हुँदै
काठमाडौं । गैर आवासीय नेपाली संघको दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन यही असोज २३ देखि २५ सम्म अर्थात २०२० अक्टोबर ९ देखि ११ सम्म आयोजना हुने भएको छ ।
ज्ञान सम्मेलनमा २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहने र २ सय वटा कार्यपत्र प्रस्तुत गरि छलफल हुने कार्यक्रम रहेको गैर आवासीय नेपाली संघले जनाएको छ ।
भर्चुअल माध्यमबाट हुने सम्मेलनको असोज २३ गते अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नु हुने कार्यक्रम रहेको र सम्मेलनको लागि आवश्यक सबै तयारी पुरा भएको गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बताउनु भयो ।
विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई मातृभूमि नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि अधिकतम सदुपयोग गर्ने उद्देश्यले ज्ञान सम्मेलनको आयोजना गर्न लागेको अध्ययक्ष पन्तले बताउनु भयो ।
भर्चुअल माध्यमबाट हुने यस सम्मेलनको उद्घाटन शुक्रबार, असोज २३ गते अपरान्ह सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च प्रतिनिधिसहित स्वदेश तथा विदेशका विज्ञहरूको सहभागिता रहने सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन् ।
साथै २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ । सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिनेछन् ।
सम्मेलनको क्रममा कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीति तथा संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी छलफल हुने गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले बताउनु भयो ।
सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्रहरु प्रस्तुत गरी छलफल हुनेछ ।
यस्तै नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित भएर कार्यपत्रहरु माथि घनिभूत छलफल गरिनेछ ।
३ दिने सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप, संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थान लगायतका सत्रहरु समावेश गरिएका छन् ।
यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, उर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञान लगायतका समानान्तर सत्रहरुमा विभिन्न विज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत भई छलफल गर्ने महासचिव हेमराज शर्माले बताउननु भयो ।
सम्मेलनको निष्कर्षलाई एक श्वेतपत्रमार्फत नेपाल सरकार समक्ष सुझावको रुपमा प्रस्तुत गरिने गैर आवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्