तपाईँ सुन्दै हुनुहुन्छः

पनौतीमा सुरक्षण मुद्रण छापाखानाको काम तीव्र

Image may contain: 2 people, people standing

काभ्रेपलाञ्चोक- सूचना प्रविधि पार्कमा स्थापित सुरक्षण मुद्रण केन्द्रमा सेक्युरिटी प्रिन्टिङ पे्रस(सुरक्षण मुद्रण छापाखाना)को काम तीव्र गतिमा अघि बढिरहेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित उक्त पार्कभित्र आवश्यक भौतिक पूर्वाधार निर्माण प्रक्रियाले तीव्रता पाएको हो ।

सरकारले गत वर्ष राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्ट कार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सिमकार्डलगायत सुरक्षित छपाइका सामग्री पार्कमा प्रेस स्थापना गर्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधारको काम थाल्न आर्थिक वर्ष २०७६/०७७ मा रु एक अर्ब नौ करोड बजेट विनियोजन भई कामको शुरुआत गरिएको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले बताउनुभयो ।
उहाँका अनुसार प्रेसको सम्पूर्ण काम रु ३३ अर्बमा सम्पन्न हुनेछ । “प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत वार्षिक रुपमा बाहिरिने रु १० अर्ब बच्दै जानेछ”, पौडेलले भन्नुभयो ।

Image may contain: 1 person, standing, shoes and outdoor
वर्षौँदेखि प्रयोगविहीन पार्कमा सुरक्षण मुद्रण केन्द्र स्थापना गरी प्रेसको काम शुरु गरिएको हो । छापाखाना स्थापनार्थ आवश्यक भवन निर्माणका लागि जमीन सम्याउने, पर्खाल निर्माण गर्ने तथा पार्कभित्रै भवनमा पहुँचमार्ग निर्माण गर्ने कामलाई तीव्रता दिइएको छ । खानेपानीका लागि एकएक लाख लिटरका खानेपानीका दुई ट्याङकीसमेत जडान गरिएका छन् । विद्युत्को अभाव भएका समयमा छापाखानाका लागि आवश्यक पर्ने चार ठूला जेनेरेटर जडान गरिएको छ । हाल जेनेरेटर सञ्चालन गर्ने डिजेल भण्डारणका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङकी निर्माण भएको छ ।Image may contain: 1 person, standing, tree, plant, sky, outdoor and nature

आज प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटा, वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा तथा पनौती, बनेपा र धुलिखेलका प्रमुख भीम न्यौपाने, लक्ष्मीनरसिं वादे र अशोक ब्याञ्जुले संयुक्त रूपमा निर्माणाधीन सेक्युरिटी प्रिन्टिङ पे्रसको अवलोकन गर्नुभयो । अवलोकनका क्रममा सांसद बाँस्कोटाले पे्रस स्थापनाको काममा ढिलाइ हुन नहुने बताउनुभयो । “यो दीर्घकालीन राष्ट्रिय गौरवको आयोजना हो, यसको काम योजनाअनुसार निरन्तर भइरहनुपर्छ, जनशक्ति र बजेट अभाव हुन दिइने छैन” उहाँले भन्नुभयो ।

Image may contain: 3 people, people standing, sky, bridge and outdoor
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य बाँस्कोटाले प्रेस सञ्चालनमा आएपछि सुरक्षित छपाइका नाममा देशको अर्बौँ रुपैयाँ विदेशिनबाट रोकिने तथा सयौँ युवाले रोजगारी पाउने बताउनुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधिमन्त्री रहँदा पार्कमा सेक्युरिटी प्रिन्टिङ पे्रस स्थापना कार्यको शुरुआत गर्नुभएको हो । “यहाँ कस्तो प्रकारको पे्रस–मेसिन राख्ने भन्ने विषयमा विस्तृत छलफल गर्न बाँकी छ”, अनुगमनका क्रममा बाँस्कोटाले भन्नुभयो ।

दुई सय ५७ रोपनी जमीनमा रहेको पार्कभित्र हाल दुई ठूला भवन र सुविधासम्पन्न चार आवासीय भवनलगायत नौ भवन छन् । पे्रसका विभिन्न भवन निर्माण प्रक्रियामा एकदुई भवन भत्काउनुपर्ने पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पे्रसका लागि दुई सय प्राविधिकसहित करीब एक हजार जनशक्तिको आवश्यकता पर्नेछ ।Image may contain: 2 people, people standing, tree, wedding, outdoor and nature

सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न कार्यमूलक एवं नतिजामूलक गुरुयोजनानुरुप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने तथा दोस्रो चरणमा आगामी दश वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिणपूर्वी एशियाका राष्ट्रहरुलाई उपलब्ध गराउने छ । तेस्रो चरणमा आगामी १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button