भरतपुर महानगरद्वारा छात्राहरुलाई साइकल वितरण
चितवन । भरतपुर महानगरपालिकाले पश्चिम चितवनका ५ वटा वडाका १७ विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई साइकल वितरण गरेको छ ।
जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजना अन्तरगर््त साइकल हस्तान्तरण गरिएको हो ।
कोभिडका कारण अघिल्लो आर्थिक वर्षमा गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् । भरतपुर २२ को पटिहानीमा रहेको आधारभुत विद्यालयमा एक कार्यक्रम गरी महानगर प्रमुख दाहालले ५ वटा वडाका १७ वटा विद्यालयका १३५ जना विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण गरिन् ।
प्रति वडा २७ साइकलका दरले महानगरका १३, १४, २२, २३, २४ नम्बर वडाका विद्यार्थीलाई साइकल वितरण गरिएको हो ।
महानगरले १२ वटा वडाका कुल ३ सय ३० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ । बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने मेयर दाहालले बताइन् ।
साइकल पाएपछि विद्यार्थीहरु निकै खुसी भएका थिए । श्री आधारभुत विद्यालय सुन्दरबस्तीमा कक्षा ४ मा पढ्ने छात्रा लक्ष्मी लामिछानेले महानगरले आफूलाई साइकल दिँदा निकै खुसी लागेको बताइन् । साइकल पाएपछि विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाईमा पनि निरन्तरता दिन सहज हुने उनले बताइन् ।
कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन् । महानगरका आधारभुत विद्यालयलाई ल्याप्टप वितरण गर्ने तयारी थालेको र सबै विद्यालयहरुमा इन्टरनेटको प्रबन्ध यही वर्षमा गरिने उनको भनाई छ ।
महानगरभित्रका सरकारी विद्यालयहरुको शैक्षिक स्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको मेयर दाहालको भनाई छ । १ सय २३ वटा सामुदायिक विद्यालयमध्ये ६० वटा विद्यालयको भौतिक संरचना निर्माण अहिले महानगरले गरिरहेको उनले बताइन् ।
महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विपन्न परिवारका छात्राहरुलाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्राहरुलाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताइन् ।








प्रतिक्रिया राख्नुहोस्