अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन सङ्घीय संसद्को भवन निरीक्षण

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन सङ्घीय संसद्को भवनको आज निरीक्षण गर्नुभएको छ ।
कोभिड–१९ का कारण निर्माण कार्यमा केही बाधा पुगेको भएपनि निर्माण कार्य उत्साहपूर्वक रुपमा अगाडि बढिरहेकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।
पहिले सङ्घीय संसद्का लागि बैठक बस्ने सभाहल भाडामा लिएर काम चलाउँदै आएको परिपेक्ष्यमा कम्तीमा पनि प्रतिनिधिसभा र राष्ट्रियसभाको सभाहल छिट्टै नै तयार गरी सञ्चालन गर्न सकेमा राष्ट्रलाई आर्थिक भार कम हुने बताउँदै उहाँले निर्धारित समय अगावै निर्माण सम्पन्न गर्नका लागि योजना बनाउन निर्माण कम्पनी तथा सरोकारवालाई निर्देशन दिनुभयो ।
अध्यक्ष तिमिल्सिनाले सार्वजनिक रुपमा निर्माण गरिने विकास निर्माणका योजनालाई समय अगावै सम्पन्न गर्नका लागि केवल आठ घण्टामात्र काम गरेर सम्भव नहुने भएकाले सिंहदरबारबाटै २४ घण्टा काम गरी समय अगावै निर्माण सम्पन्न गरेर अन्य निर्माणमा संलग्न पक्षलाई प्रोत्साहितसमेत गर्नका लागि निर्माण कम्पनीलाई सुझाव पनि दिनुभयो ।
करीब रु नौ अर्बको लागतमा बन्न लागेको यो भवनको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गरिने लक्ष्य रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्