भेरीगंगामा गुनासो सुन्न टोलफ्री नम्बर सञ्चालन

सुर्खेत । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाले अपांगता तथा जोखिममा रहेका व्यक्तिलाई लक्षित गरी ‘टोल फ्रि नम्बर’ सञ्चालन ल्याएको छ । अपांग सशक्तिकरण केन्द्र सुर्खेतको आर्थिक सहयोगमा ‘टोल फ्रि नम्वर’ सञ्चालनमा ल्याएको हो । १६६०८३५२००६ नम्बरको टोल फ्रि नम्बरमा अपांगता तथा जोखिमा रहेका व्यक्ति, परिवारले आफ्ना समस्या एवं गुनासाहरु सहजै राख्ने सक्ने गरी सञ्चालनमा ल्याईएको छ ।
मंगलबार छिन्चुमा उक्त सेवाको उद्घाटन गर्दै नगर उपप्रमुख रेणु आचार्यले नगरपालिका क्षेत्रमा रहेका अपांगता तथा जोखिममा रहेका व्यक्ति तथा अन्य सेवाग्राहीले समेत सेवा लिन सकिने बताउनु भयो । ‘टोल फ्रि नम्वर सञ्चालनमा आएसँगै अपांगता तथा जोखिममा रहेका व्यक्ति अब जतिबेलापनि सहजै आफ्ना समस्या तथा गुनासाहरु निशुल्क राख्न सक्नु हुन्छ,’ उहाँले भन्नु भयो, ‘टोल फ्रि नम्वरले नागरिकका समस्या एवं गुनासा सुन्ने मात्र होइन, सेवाग्राही र सेवाप्रदायक वीचमा जीवन्त सम्पर्क राख्नका लागि समेत पुलको काम गर्नेछ ।’
भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले अपांगता भएका व्यक्तिहरुको समस्या तथा गुनासा सम्बोधन गर्नका लागि टोल फ्रि नम्वरले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा अपांगता सशक्तिकरण केन्द्रका अध्यक्ष विष्णु भट्टराईले अपांगता भएका व्यक्ति, परिवार तथा अन्य जोखिममा रहेका व्यक्तिलाई निशुल्क रुपमा पैसा नलाग्ने नम्वरमा आफ्ना गुनासा सहजै राख्न सक्ने व्यवस्था मिलाईएको बताउनु भयो । संस्थाका तर्फबाट एक जना कर्मचारी समेत उपलब्ध गराईएको उहाँको भनाई छ ।
संस्थाको परियोजन संयोजक दुर्गा गाहाले अपांगता भएका व्यक्तिहरुको गुनासो र समस्या समाधानमा टोल फ्रि नम्वरले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले यसको अत्याधिक लाभ लिन नगरबासीलाई अनुरोध गर्नु भयो । अपांगता समावेशी कोभिड–१९, प्रतिकार्य परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको संस्थाका अपांगता समावेशी अधिकृत तेजेन्द्र चन्दले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्