वीरगञ्जमा आर्थिक गतिविधि पुरानै लयमा फर्किदै
वीरगञ्ज । कोरोना महामारी नियन्त्रणका लागि झण्डै ६ महिना देखि जारी लकडाउन र निषेधाज्ञा असोज १५ गते देखि हटेसँगै मुलुकको आर्थिक केन्द्र वीरगञ्जमा हुने आर्थिक गतिविधि पुरानै लयमा फर्किन थालेको छ ।
आर्थिक दैनिकीमा सुधार आएपछि सामाजिक दिनचर्या पनि क्रमशः सहज बन्दै गएको छ । करीब ६ महीनाको नियन्त्रणले थला परेको औद्योगिक र व्यावसायिक उपक्रम विस्तारै लयमा फर्किदै गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताउनुभयो । नियन्त्रण खुकुलो भएसँगै अहिले उद्योग कलकारखाना, सार्वजनिक यातायात, ढुवानी, आवागमन, बजार लगायत क्षेत्र चलायमान भएका छन् ।
दशै तिहार छठ जस्ता नेपालीहरुका ठूला चाड पर्व नजीक आइरहेकाले आवागमन बढ्ने र यसबाट संक्रमण फैलिने त्रास पनि कायमै छ । संक्रमण नियन्त्रणका लागि आर्थिक र सामाजिक गतिविधिमा फेरि रोक लाग्न सक्ने चिन्ताले भने सरोकारका पक्षलाई छोडेको छैन ।
उत्पादन र बजार बढ्न थाले पनि संक्रमणको डर भने हटिनसकेको चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले बताउनुभयो ।
उद्योग व्यवसाय सामान्य अवस्थामा आउन कम्तीमा ६ महीना लाग्ने भएकाले औद्योगिक व्यापारिक गतिविधि अवरुद्ध हुने कदम नचाल्न अध्यक्ष चाचानले सरकारलाई आग्रह गर्नुभयो । आर्थिक गतिविधि अवरुद्ध हुँदा सामाजिक जीवन कष्टकर हुने दाबी चाचानको छ ।
कोरोना नियन्त्रणका नाममा अब पनि उद्योग र व्यापारलाई बिथोल्ने हो भने अर्थतन्त्र नै धराशयी हुने दाबी नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानीले बताउनु भयो ।
कोरोना नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञामात्र पर्याप्त नदेखिएकाले आर्थिक गतिविधि ठप्प बनाउनुको औचित्य नहुने वीरगञ्जका व्यवसायीहरुको भनाइ छ ।
कोरोनालाई सामान्यीकरण गर्दै अघि बढ्नुको विकल्प नभएको वीरगज्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले बताउनु भयो ।
कोरोनाको नाममा त्रास सिजना गरेर होइन, अब सतर्कता अपनाएर दिनचर्यालाई सामान्य बनाउनेतर्फ अघि बढनु पर्ने कुरामा गुप्ताले जोड दिनुभयो ।
कोरोना संक्रमण फैलिन नदिन नागरिक आफै सचेत हुनुपर्ने कुरामा जोड दिदै वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव अरविन्द अमात्यले सुरक्षाका मापदण्ड पालना गरेर दैनिकीलाई सामान्य बनाउँदै लैजानु नै उत्तम उपाय भएको बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्