प्रदेशको स्थायी राजधानी दाङ तोकिएपछि रुपन्देहीमा विरोध, स्थानीय प्रशासनद्धारा निषेधाज्ञा
रुपन्देही – प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी बनाउने प्रस्तावको बुटवलमा विरोधमा प्रदर्शन हुन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोकेको छ । र्याली र दबाबमुलक कार्यक्रमको आयोजना यस क्षेत्रका संघसंस्थाले गरेपछि प्रशासनले ५ जनाभन्दा बढी जम्मा हुन नपाईने गरि निषेधाज्ञा लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ।
मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जनाभन्दा धेरै भेला हुन पाइनेछैन।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न नपाइने सूचनामा उल्लेख छ ।
रूपन्देहीका विभिन्न संघसंस्था तथा राजनीतिक दलले बन्दसहितका अान्दोलन घाेषणा गरेपछि प्रशासनले यस्तो निर्णय गरेकाे हाे ।







प्रतिक्रिया राख्नुहोस्