तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा जनप्रतिनिधिसहित छ जनामा कोरोना सङ्क्रमण पुष्टि

उदयपुर । लगभग नियन्त्रणको अवस्थामा पुगेको कोरोना भाइरस उदयपुरमा पुनः फैलिएको छ । एक सय १८ जना सङ्क्रमित मध्ये पाँच जना मात्र उपचाररत अवस्थामा रहेकोमा आज जनप्रतिनिधिसहित छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट बेलका नगरपालिकाका मेयरसहित छ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार ५४ बर्षीय मेयरसहित ४०, ४३, २८, ४२ बर्षीय पुरुष र १८ बर्षीया युवतीलाई कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुमध्ये एक जना स्वास्थ्यकर्मीसमते रहेका छन । एक साता अघि मेयरका ८२ बर्षीय बुबालाई उपचारका क्रममा विपी कोईरालामा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोराना देखिएपछि शनिबार देखिएका छ जना नै कन्ट्रयाक टे«सिङ्गमा थिए ।यसअघि जिल्लामै पहिलो पटक सोही नगरपालिकाका ६५ बर्षीय वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएको थियो ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक सय २४ जना पुगेको छ । त्यसमध्ये ९२ जना पुरुष र ३२ जना महिला रहेका छन् ।

कोरोना भाइरस नियन्त्रणको अभियान लिएर गाउँ पसेका जनप्रतिनिधिलाई नै कोरोना पोजेटिभ देखिएपछि उदयपुरको बेलका नगरक्षेत्रमा फेरी त्रास फैलिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो ।

मेयरमा पोजेटिभ देखिएपछि पालिकाका सबै जनप्रतिनिधि र कर्मचारी कन्ट्रयाक ट्रेसिङमा परेका छन् । त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केबाट उदयपुरमा सुरु भएको कोरोना भाइरस भुल्केपछि सबैभन्दा बढि बेलका नगर क्षेत्रमा सङ्क्रमित देखिएका छन् ।

सङ्क्रमित मध्ये हालसम्म त्रियुगा नगरपालिकामा ७० जना, बेलका नगरपालिकामा ४० जना, कटारी नगरपालिकामा सात जना, उदयपुरगढी गाउँपालिकामा दुई जना, चौदण्डीगढी नगरपालिकामा दुई जना र ताप्ली गाउँपालिकामा तीन रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीका अनुसार जिल्लामा हालसम्म एक हजार नौ सय ६२ जना महिलासहित सात हजार सात सय २२ ले पिसिआर परीक्षण गरिसकेका छन् । त्यसमध्ये सात हजार छ सय ८९ जनाको रिर्पोट आइसकेको छ ।

कार्यालयका अनुसार २० जना पुरुषसहित २३ जना क्वारेन्टाइनमा रहेका छन् भने चार सय ५४ जना पुरुषसहित चार सय ७२ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button