सल्यानमा कारोना रोकथाम तथा नियन्त्रयणमा आठ करोड खर्च
सल्यान । सल्यानमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि रु.आठ करोड बढी खर्च गरिएको छ ।
जिल्लाका दश स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य सेवा कार्यालयले गत आर्थिक बर्ष २०७६÷०७७ मा रु.आठ करोड २८ लाख ६० हजार खर्च गरेका हुन् । दश स्थानीय तहले मात्र रु.सात करोड ३१ लाख नौ हजार रुपैयाँ कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सल्यानले रु.१८ लाख ८० हजार र स्वास्थ्य सेवा कार्यालय सल्यानले रु.७८ लाख ७१ हजार रुपैयाँ खर्च गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सल्यानले कार्यालयबाट खर्च गरिएको रकमबाट सुरक्षाकर्मी र कर्मचारीका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गरिएको जानकारी दिएको छ । यस्तै सबै स्थानीय तहमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै क्षेत्रबाट काम भइरहेको जानकारी दिनुभयो ।
चाडपर्वको समयमा नागरिकहरु जिल्लामा धेरै भित्रिन सक्ने भएकाले उनीहरुको उचित व्यवस्थापनको लागि क्वारेनटाइन निर्माणलगायतका तयारी गर्नको लागि स्थानीय तहलाई आग्रह गरिएको जानकारी दिनुभयो ।
दश स्थानीय तह मध्ये सबैभन्दा धेरै बागचौर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा एक करोड ५० लाख ६८ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।
क्वारेन्टाइन निर्माणमा तीन लाख, क्वारेन्टाइनमा बस्नेहरुको खानबस्न खर्च ३० लाख, आइसोलेसन निर्माणको तयारीका लागी सामान खरिद नौ लाख, स्वास्थ्य उपकरण खरिदमा १६ लाख, राहत वितरणमा २३ लाख, स्वयंसेवक परिचालनमा ३८ लाख, स्वास्थ्यकर्मी लगाएतकालाई प्रोत्साहन भत्ता बापत २४ लाख लगायतका शीर्षकमा बजेट खर्च भएको नगरपालिकाले जनाएको छ ।
यस्तै बन्गाड कुपिण्डे नगरपालिकाले एक करोड १० लाख ८६ हजार खर्च गरेको छ । जिल्लामा नै सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएको यस नगरपालिकामा क्वारेन्टाइन तथा आइसोलेसन निर्माण, उद्धार तथा राहत वितरण लगायतका कार्यमा रकम खर्च भएको नगरप्रमुख गोबिन्द कुमार पुनले जानकारी दिनुभयो ।
यसैगरी शारदा नगरपालिकाले ४८ लाख ५२ हजार रुपैयाँ खर्च गरेको जनाएको छ ।गाउँपालिका तर्फ सबैभन्दा धेरै दार्मा गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा वजेट खर्च गरेको छ ।
यस गाउँपालिकाले गत आर्थिक वर्षको असार मसान्त सम्म ८६ लाख २९ हजार रुपैँया खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, बाहिरबाट फर्किएका नागरिकको व्यवस्थापन, स्वास्थ्य सुरक्षाका सामाग्री खरिद लगाएतका कार्यमा खर्च भएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै कालीमाटी गाउपालिकाले ८१ लाख ४६ हजार रुपैँया खर्च भएको जनाएको छ । औषधि खरिदमा ११ लाख, अलपत्र गाउँपालिकावासीको उद्धार कार्यमा १० लाख, राहत वितरण, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन कार्यमा रकम खर्च भएको गाउपालिकाले जनाएको छ ।
यस्तै कुमाख गाउपालिका र छत्रेश्वरी गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा ७०÷७० लाख रुपैँया खर्च गरेका छन् ।
यस्तै क्वारेन्टाइन व्यवस्थापनमा १० लाख, आइसोलेसन निर्माण तथा व्यवस्थापनमा नौ लाख, स्वास्थ्य सामाग्री तथा उपकरण खरिदमा १२ लाख, राहत वितरणमा तीन लाख लगाएतका कार्यमा ५० लाख २९ हजार रुपैँया खर्च भएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।
त्रिवेणी गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा ३८ लाख रुपैँया खर्च गरेको छ । गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले क्वारेन्टाइन व्यवस्थापन, नागरिकको उद्धार, स्वास्थ्य सामाग्री खरिद तथा व्यवस्थापन, एक हजार घरपरिवारलाई दुई चरणमा राहत वितरण लगाएतका कार्यमा रकम खर्च भएको जानकारी दिनुभयो ।
दश स्थानीय तह मध्ये सबैभन्दा कम सिद्धकुमाख गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा वजेट खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले गत आर्थिक बर्षको अन्त्यसम्ममा कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा २५ लाख रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्