तपाईँ सुन्दै हुनुहुन्छः

मन, वचन र कर्मका साथ काम गर्न कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कर्मचारीलाई मन, वचन र कर्मले काम गर्न निर्देशन दिनुभएको छ । शुक्रवार स्याङ्जामा कर्मचारीहरुसंग भेटघाट गर्दै मन्त्री अर्यालले सरकारले नीति बनाउने र सोही अनुसार काम गर्न निर्देशन दिनुभएको हो । कोरोनाको त्रासमा पनि जनताको सेवामा खटिनुभएका कर्मचारीलाई धन्यवाद दिँदै भन्नुभयो, ‘जनताको सेवामा खटिनुस्, कर्मचारीको उचित मूल्याङ्कन सरकारले गर्छ । प्रविधिको उच्चतम प्रयोग गर्दै सेवालाई प्रविधिमय बनाउनु अहिलेको आवश्यकता हो ।’

साथै मन्त्री अर्यालले अव हरेक पालिकामा आइसोलेसनको व्यवस्था गर्नुपर्ने र होम क्वारेनटिन नै सुरक्षित हुने भन्दै कोरोना सङ्क्रमणलाई फैलिन नदिन हरेक नागरिक सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनासँग जुध्दै हामी अगाडि बढ्नुपर्छ । विद्यार्थीको सिकाइलाई सहजीकरण गर्न प्रविधिको प्रयोगलाई बढाऔँ ।’ दशैँ तिहार पछाडि सरकारले नीति बनाएर पठनपाठन सुरु गर्ने भन्दै उहाँले भन्नुभयो, ‘आफ्ना बालबालिकालाई सिकाई क्रियाकलापमा सक्रिय बनाउन आफ्ना अभिभावकले पनि सहयोग गर्नुपर्छ । सरकारले उचित नीति बनाएर पठनपाठन सुचारु गर्छ ।’

स्याङ्जा सबै हिसाबले अगाडि रहेको भन्दै उहाँले भन्नुभयो, ‘स्याङ्जा विकासका हिसाबले समेत अगाडि छ । यहाँका कर्मचारी सफल छन् । स्याङ्जाली निजामती क्षेत्रमा समेत अग्र भूमिकामा रहेको भन्दै स्याङ्जालाई नमुना जिल्ला बनाउनुपर्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button