बझाङका ६ वटा स्थानियतहको सार्वजनिक सुनुवाइ गर्न बाँकी

बझाङ । विगतका वर्षहरूमा आर्थिक वर्षको साउन भदौ महिना भित्र स्थानियतहको सार्वजनिक सुनुवाइ गरी सक्ने बझाङका पालिकाहरूले यस वर्ष भने सबै पालीकाले सार्वजनिक सुनुवाइ गर्न सकेका छैनन् । कोरोना महामारीका कारण मान्छेको जमघट नगर्न सकिने हुँदा केही पालिकाले थोरै मान्छेहरू बोलाएर सार्वजनिक सुनुवाइ गरेको भए पनि अन्य ६ पालिकाले भने अझै सार्वजनिक सुनुवाइ गर्न बाँकी छ ।
जिल्लाको जयपृथ्वी नगरपालिका लगायत तल्कोट, खप्तडछान्ना, दुर्गाथली, केदारस्युँ, र वित्थडचिर गाउँपालिकाले गएको भदौ महिनामै सार्वजनिक सुनुवाइ गरेको थियो । अन्य बुगंल नगरपालिका सहित थलारा, छविसपाथीभेरा, सुर्मा, मष्टा, साइपाल गाउँपालिकाको सार्वजनिक सुनुवाइ गर्न बाँकी रहेको जिल्ला समन्वय समितिले जनाएको छ ।
६ वटा स्थानियतहको सार्वजनिक सुनुवाइ गर्न बाँकी हुँदा गत आर्थिक वर्षमा कहाँ कति खर्च भयो उपलब्धि के कस्तो भयो समस्या चुनौती के कस्ता आए र सेवाग्राहीका गुनासाहरू बारे जानकारी हुन सकेको छैन । स्थानियतहले सुशासन जबाफदेहिता र पारदर्शिताका लागी चौमासिक वा वर्षको दुई पटक अनिवार्य रूपमा सार्वजनिक सुनुवाइ गर्नु पर्ने कानुनी प्रावधान छ ।
कतिपय स्थानियतहहरुमा कमीकमजोरी बढी हुने हुँदा स्थानीयको गुनासो आलोचना पनि बढी आउने हुँदा सार्वजनिक सुनुवाइ गर्न जनप्रतिनिधिले नै आनाकानी गरेको देखिन्छ, जिल्ला समन्वय समितिका प्रमुख खडक बहादुर खड्काले भने यसपालि कोरोनाले लकडाउन भएर कार्यक्रम गर्न सकिएन अव बाँकी रहेकाहरू लाई सार्वजनिक सुनुवाइ गर्न गराउन सुझाव दिएको बताए । वार्षिक प्रगति समीक्षा सार्वजनिक सुनुवाइ सामाजिक परीक्षण जस्ता सुशासन पारदर्शिता हुने कार्यक्रमहरू गर्न जनप्रतिनिधिले नै चाँसो देखाएको पाइन्छ ।








प्रतिक्रिया राख्नुहोस्