‘डा. केसीलाई अनसन स्थगित गर्न आग्रह’

काठमाडौं। सरकारले चिकित्सा शिक्षाको सुधार लगायतका माग राखी अनसनरत डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न आग्रह गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले डा.केसीका धेरै मागहरू पुरा भइसकेको र बाँकी मागहरू सरकारले आफ्नो क्षमता अनुसार पुरा गर्दै जाने हुनाले थप दबाव आवश्यक नपर्ने बताउनुभयो ।
मन्त्री ज्ञवालीले अनसन लगायतका कार्यक्रमहरू स्थागित गरी कोरोनाको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई साथ दिन आग्रह समेत गर्नुभयो ।
मन्त्री ज्ञवालीले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको हुनाले उच्च सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षाका प्रवन्धहरूको कडाइका साथ पालना गर्न समेत सबैलाई आग्रह गर्नुभयो ।
मन्त्री ज्ञवालीले दिनुभएको जानकारी अनुसार आजको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मीले नेपाल सरकारको मुख्य सचिव पदबाट दिनुभएको राजिनामा स्वीकृत गर्ने र रिक्त रहेको मुख्य सचिव पदमा शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको राजदुतमा, निवर्तमान मुख्य सचिव लोकदर्शन रेग्मीलाई संयुक्त अधिराज्यको राजदुतमा र डा. निर्मल विकलाई दक्षिण अप्रिंmकाको राजदुत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले कोरोनाको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको लकडाउनका कारण स्थगित लोकसेवा आयोगका परीक्षालगायतका कार्यक्रमहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी अगाडि बढाउन स्वीकृति दिने निर्णय गरेको छ ।
यसैगरी आर्थिक ऐन २०७७ संशोधन गरी केही करका दर तथा अन्तःशुल्कहरू घटाउने, मदन भण्डारी प्राविधिक विश्वविद्यालय सम्वन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, राष्ट्रिय योग्यता प्रारूप सम्बन्धी विधेयक तर्जूमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्