तपाईँ सुन्दै हुनुहुन्छः

६ महिना पछि स्वास्थ्य सावधानी अपनाई विद्यालयको पठनपाठन शुरु


कपिलवस्तु । कोरोना महामारीका कारण लामो समय अवरुद्ध भएको विद्यालयको पठनपाठन कपिलवस्तुमा सुचारु भएको छ । चैत्रदेखि बन्द भएका विद्यालयहरुले ६ महिनापछि विद्यालयको पठनपाठन शुरु गरेका हुन् । सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरेपछि सामुदायिक विद्यालयहरुले पठनपाठनलाई अघि बढाएका हुन् । वैकल्पिक शिक्षण पद्धतीबाट रेडियो, टिभीको माध्यमबाट केही समय पढाएका विद्यालयले पछिल्लो समय स्वास्थ्य मापदण्ड अनुसार विद्यालयमै बोलाई पठनपाठनलाई निरन्तरता दिएको बताएका छन् ।

शिक्षकहरु अनिवार्य विद्यालयमा उपस्थित भई विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार पढाउन थालेका छन् । उनीहरुले विद्यार्थीलाई अनिवार्य मास्क, सेनिटाइजर र ज्वरो मापन गरेर दैनिक रुपमा विद्यालयमा पढाउन थालेका हुन् । जिल्लाका १० वटै पालिकाहरुले विद्यार्थी सिकाई निर्देशिका अनुसार विद्यालयको शिक्षण कार्य अघि बढाएको शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरले बताउनुभयो । विद्यालयको कक्षा र बार अनुसार थोरै समयका लागि विद्यालयमा शिक्षण कार्य शुरु गरेको प्रमुख घिमिरेले बताउनुभयो ।

कपिलवस्तुको यशोधरा गाउँपालिकामा रहेको अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ वमोजिम विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यालयका प्रद्यानाध्यापक रामसेवक यादवले बार अनुसार कक्षा संचालन गरेको बताउनुभयो । कक्षा ३, ५, ७, ९ र ११ कक्षाका विद्यार्थीलाई आइतबार, सोमबार र मंगलबार शिक्षण सिकाई गर्दै आएको छ, प्रअ यादवले भन्नुभयो – कक्षा ४, ६, ८, १० र १२ कक्षाको बुधबार, विहीबार र शुक्रबार पठनपाठन हुन्छ । एउटा कक्षामा स्वास्थ्य मापदण्ड अनुसार २५ भन्दा बढि विद्यार्थी नराख्ने गरेको विद्यालयले जनाएको छ । कक्षा १ र २ का विद्यार्थी भने वर्कबुक अनुसार घरघरमै पढिरहेका छन् । त्यस्तै जिल्लामा संस्थागत विद्यालयहरुले पनि सिकाई सहजीकरण निर्देशिका वमोजिम पठनपाठन शुरु गरेका छन् । सोही वमोजिम विभिन्न केन्द्र तोकेर सानो समूहमा विद्यार्थी सिकाई अघि बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button