लोक सेवा आयोगको नक्कली परीक्षा संचालन गर्ने पक्राउ

वीरगंज । नक्कली प्रहरी निरीक्षकले प्रहरी पोशाक लगाएर लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सुचक र खरिदारको नक्कली लिखित परिक्षा संचालन गरि रहेको अवस्थामा पर्सा प्रहरीले वीरगंजको देव पार्टी प्यालेसबाट २१ जना परीक्षार्थी सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरी नक्कली प्रहरी निरीक्षक जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ चौधरी टोल बस्ने २९ बर्षीय अजय कुमार रायलाई प्रहरी निरीक्षकको बर्दी सहित ६ जनालाई सार्वजनिक गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर ५ स्थित देव पार्टी प्यालेसमा बुधवार लोकसेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सुचक र खरिदारको लिखित परिक्षा भई रहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बारा, पर्सा, सर्लाहीका २१ जना परिक्षार्थी सहित अभियुक्तहरुलाई रंगेहात पक्राउ गरेको हो ।
नक्कली परिक्षामा बसेका परिक्षार्थीहरुले आफूहरुलाई नेपाल प्रहरीको सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सुचक र निजामति सेवाको खरिदारमा जागिर लगाई दिने भन्दै विगत ९ महिना देखि प्रलोभनमा पारेर आज आफूहरु विश्वासमा परि परीक्षा दिन आएकोमा पक्राउ परेको बताएका छन ।
यसैगरी पर्सा प्रहरीले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस नोटमा २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा नक्कली प्रहरी निरीक्षक राय पुर्पक्षका लागि १ सय १० दिन वीरगंज कारागारमा कैद सजाय भुक्तान गरेको समेत खुल्न आएको छ ।
जागिर लगाई दिने बहानामा परीक्षा संचालन गर्ने नक्कली प्रहरी निरीक्षक रायसँग पर्सा प्रहरीले प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र थान २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सुचक पदको प्रवेश पत्र ११ थान, प्रश्न पत्र २६ थान, खरिदारको प्रवेश पत्र १ थान सहित निजलाई प्रहरी निरीक्षकको पोशाकमै पक्राउ गरी ल्याईएको र उक्त परीक्षा हलबाट वारा जितपुर सिमरा निवासी ५७ बर्षीय हिरालाल महतो, २८ बर्षीय बसन्त चौधरी, वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने २१ बर्षीय रवि कुमार चौरसिया, पकहामैनपुर सबैठवा बस्ने ४७ बर्षीय शिवनारायण चौरसिया र वीरगंज रानीघाट बस्ने २५ बर्षीय रामजी चौरसिया समेतलाई प्रहरीले पक्राउ गरेको छ । निजहरुको भूमिकाको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुवरले जानकारी दिनुभयो ।
यसैगरी परीक्षा दिन आएका २१ जना समेत पक्राउ परेको र उनिहरुको बारेमा समेत अनुसन्धान भई रहेको छ । अभियुक्तहरुले परीक्षा लिन अगावै १३ जना परीक्षार्थीसँग ३ लाख ६१ हजार रुपैया समेत लिएको र सो रकम प्रहरीले बरामद गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्