घरमै पुगेर सुत्केरीको स्वास्थ्य चेकजाँच

सल्यान । कोभिड १९ को संक्रमण न्युनिकरण गर्ने भन्दै सल्यानमा सुत्केरीहरुलाई घरमै पुगी स्वास्थ्य सेवा दिन थालिएको छ । कोरोना महामारी फैलिएको समयमा सुत्केरी र नवजात शिशुमा संक्रमणको जोखिम उच्च हुने भन्दै जिल्लाको त्रिवेणी गाउँपाकिले घरमै स्वास्थ्यकर्मी परिचालन गरी सेवा प्रदान गरेको छ ।
नवजात शिशु र आमाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सुत्केरीको घरमै पुगी उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जाँचबुझ हुने त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताए । उनले भने ‘नेपाल सरकारको प्राटोकल अनुसार सुत्केरी भएको २४ घण्टा ३ दिन र ७ दिनमा जाँच गराउनु पर्ने हुन्छ तर दुर्गमताका कारण स्वास्थ्य संस्था जान नसक्ने र त्यसमा पनि कोरोनाको महामारी फैलिएको समय भएकाले आमा र शिशुको स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्यकर्मी घर घर पठाएका छौं ।’

गाउँपालिकाका ६ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी सुत्केरीको घर घरमा पुगी स्वास्थ्य परीक्षण गरि रहेको उनको भनाई छ ।
गाउँपालिकाले घरमै स्वास्थ्य सेवा दिदा निकै सहज भएको वडा न ५ कैलेज्युलाकी सुत्केरी सुस्मिता रावतले बताइन । उनले भनिन ‘पहिले सुत्केरी भएको ३ दिनमा सकी नकसी चेकजाँच गराउन स्वास्थ्य संस्था जानु पथ्र्यो तर अहिले घरमै स्वास्थ्य सेवा पाएका छौं ।’ गाउँघरबाटै स्वास्थ्य सेवा पाएपछि स्वास्थ्य अवस्था प्रतिको डर, त्रास पनि कम भएको अर्की सुत्केरी दुर्गा केसीले बताइन ।
गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सुत्केरी महिलाको घरमै पुगि स्वास्थ्य सेवा दिने कार्यक्रमम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए । अबको केही दिनमा नै जेष्ठ नागरिकहरुलाई पनि घरदैलोमा नै स्वास्थ्य सेवा दिने गरी कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्