तपाईँ सुन्दै हुनुहुन्छः

बाढी प्रभावितलाई क्षतिपूर्ति र नदी नियन्त्रण गर्न नेकपा तिलोत्तमाको आग्रह

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले देशभरी परेको अविरल वर्षाका कारण तिलोत्तमाका केही भागमा क्षति पु¥याएको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारसँग बाढी प्रभावितहरुलाई उचित क्षतिपूर्ति प्रदान गर्न र नदी नियन्त्रण र व्यवस्थापनको योजना बनाउन आग्रह गरेको छ ।

नेकपा तिलोत्तमा नगर कमिटी सचिवालयको मंगलबार बसेको बैठकले बाढीबाट प्रभावित बनेकाहरुलाई यथोचित राहत र क्षतिपूर्तिको प्रवन्ध गर्न र नदी नियन्त्रण तथा व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन योजना बनाउन माग गरेको हो ।

असोज ९ गते राति परेको अविरल वर्षाका कारण तिलोत्तमा–११ को भूपू सैनिक र सुखौरा क्षेत्र, तिलोत्तमा वडा नम्बर ८ को ज्योतीनगर, ७ को दल्का जहदा, १ को चपरहट्टी, वडा नम्बर १० को ड्यामसाईट, ४ को डिंगरनगर, ५ को मणिग्राम पुर्वी क्षेत्र, १५ को मधवलिया, १७ को कानपारा क्षेत्र डुवानमा पर्दा केही घर, कृषि बाली, कुखुरा तथा बंगुर फर्म, उद्योग व्यवसाय लगायतमा क्षति पुग्नुका साथै केही पशु चौपायाको मृत्यु भएको थियो ।

नेकपाको तिलोत्तमा नगर कमिटी सचिवालय बैठकले बाढी तथा डुवानबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । नगर कमिटी अध्यक्ष मोहन चापागाईको अध्यक्षतामा बसेको बैठकलाई संबोधन गर्दै पार्टीका केन्द्रीय सदस्य दधिराम न्यौपानेले समसामयिक विषयमा धारणा राख्नु भएको थियो । उहाले आगामी चैतमा पार्टीको महाधिवेशन हुने भएकाले यसको तयारीमा लाग्न आग्रह गर्दै बाढी प्रभावितहरुको राहत, क्षतिपूर्ति र प्रकोप व्यवस्थापनको काममा सिंगो पार्टीपंक्ति परिचालित हुनुपर्नेमा जोड दिनु भयो ।

बैठकमा पार्टी सदस्यहरुको सूचीकरण, नवीकरण तथा अभिलेखीकरणको सन्दर्भमा छलफल भएको थियो । बैठकले यही असोज १९ गतेसम्म पार्टी सदस्यहरुको सूचीकरण तयार गरिसक्ने र मंसिर १५ गतेसम्म नवीकरण गर्ने गरी आवश्यक योजना तयार गरेको छ । यसका लागि विभिन्न नेताहरुलाई विभिन्न वडाहरुको संयोजनको जिम्मेवारी दिइएको छ । बैठकले अव पार्टी सांगठनिक र वैचारिक ढंगले एकतावद्ध भएर अघि बढ्ने र नगरपालिकाले गरेका महत्वपूर्ण निर्णय कार्यान्वयनमा सघाउने र जनताको बीचमा लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button