तपाईँ सुन्दै हुनुहुन्छः

बाँदरका लागि वनमै फलफूल रोपण

महोत्तरी-बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमै सघन फलफूल रोपण शुरु गरेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१ को चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले बाँदरलाई वनमै रमाउने बनाउन आफ्नो वन क्षेत्रमा सघन फलफूल रोपण शुरु गरेको हो ।

यस अभियानअन्तर्गत यसपालि बर्खामा एक हजार ५०० फलपूmलका बिरुवा रोपिएको समितिका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिनुभयो ।

यस क्रममा यसपालि गएको बर्खामा अम्बा, अमला, जामुन, फडिर र महुवा गरी एक हजार ५०० बिरुवा रोपिएको न्यौपानेको भनाइ छ । अबको दुई वर्षपछि वनमै फल लटरम्म फल्न थालेपछि बाँदर, अन्य शाकाहारी वन्यजन्तु र चराचुरुङ्गी वनमै रमाउने समितिको ठम्याइ छ ।

नयाँ फलफूल र अन्य वनस्पति रोपिएसँगै वन क्षेत्र घना हुँदै जाने र वन्यजन्तु त्यहीँ रमाउने अध्यक्ष न्यौपाने बताउनुहुन्छ । बर्दिवास–१ को अति व्यस्त बर्दिवास चोकबाट ५०० मिटर मात्र उत्तरमा पर्ने यो वन क्षेत्र ४४ हेक्टरमा फैलिएको छ । यसपालि बर्खामा लगाइएका फलका बिरुवा र गल्छी पहिरो रोकथामका लागि रोपिएका ७५० झ्याङ बाँस सबै सरेर हलक्क बढेको न्यौपाने बताउनुहुन्छ ।

वन क्षेत्र हराभरा भएपछि मुख्य चोकको सौन्दर्य अझ बढेको बर्दिवासवासी बताउँछन् । समितिले वन सुरक्षाका लागि एक जना वन हेरालु नै नियुक्त गरेको छ । जिल्लाका अन्य भेगका वन क्षेत्र जताततै अतिक्रमणको चपेटामा परे पनि आफ्नो वन भने सुरक्षित रहेको न्यौपानेको जिकिर छ ।

बाँसको झ्याङ निकै बढेपछि नयाँ तामा नफस्टाउने र अन्य वनस्पति पनि बाँसको छायाँमा नबढ्ने भएको हुँदा बर्सेनि केही बाँस छासेर उपभोक्तालाई दिने गरिएको समितिले स्पष्ट पारेको छ । सुरक्षा प्रबन्ध राम्रो भएपछि वनक्षेत्र सघन र मनोरम बन्दै गएको नगरवासी बताउँछन् । एक दशकअघि नाङ्गो डाडाँ भनेर चिनिने यो वन क्षेत्रमा अहिले मयुर र अन्य चराच्रुङ्गी ह्वात्तै बढेका छन् ।

समितिको सकारात्मक प्रयत्नले प्रदेश–२ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पनि साथ पाएको छ । मन्त्रालयले गल्छी र पहिरो नियन्त्रणका उपाय अवलम्बन गर्न उपलब्ध गराएको रु २४ लाख ९५ हजारले वनक्षेत्रका तीनवटा खोल्सीमा चेकड्याम (छहरा बाँध) र एउटा पोखरी निर्माण भएको वन समितिकै उपभोक्ता रहनुभएका बर्दिवास–१ का वडाध्यक्ष चूडामणि पोखरेल बताउनुहुन्छ ।

यसपालि धेरै पानी परेको बर्खामा विगत वर्षजस्तो गेगर्यान पसेर घर नलडाएको पोखरेल बताउनुहुन्छ । बरु यसपालि त सबै खोल्सीमा एक दशकपछि कञ्चन पानी बगिरहेको देख्दा मन प्रफुल्ल हुने गरेको पोखरेलसहित बर्दिवास–१ का बासिन्दा बताउँछन् । चिहानडाँडा वनउपभोक्ता समितिले वन क्षेत्रको सुरक्षा र सम्वद्र्धनमा नमूना काम गरिरहेको डिभिजन वन कार्यालय महोत्तरीको पनि मूल्याङ्कन छ ।

समितिले सुरक्षाको प्रत्याभूति दिन थालेपछि कार्यालयले नयाँ बिरुवा रोपणका लागि मागअनुसार बिरुवा दिँदै आएको साह बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button