पत्रकार पहराई प्रकरणः हत्या कि आत्महत्या?

‘बहिनी बिरामी भईन्, अब अफिस आउँदिनन् सर’
दिदी कृष्णा (३८) ले गएको भदौं ३१ गते निर्मला पहराई कार्यरत कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको कैलाली एफ.एम (९३.७ मेगाहर्ज) मा खबर गर्छिन् ।
स्थानीय युनिक नेपाल सहकारीमा रहेको ५ सय रुपैयाँ झिकेर ३ सय बहिनी निर्मलाको हातमा थमाएपछि दिदी कृष्णा अर्कै काममा लाग्छिन् ।
काममा कटिवद्ध, समाचारवाचकको जिम्मेवारी भए पनि निर्मला कार्यालयमा हुँदा व्यवस्थापनकदेखि सहकर्मीहरु ढुक्क हुने । ६ वर्षदेखि कार्यरत एफ.एममा निर्मलाको इमान्दार छविले नै निर्देशक नवराज खनालले एकै फोनमा हुन्छ भनिदिए ।
‘के बिरामी ?’
आफ्नै दिदी बताउनेले नै फोन गरेपछि त्यो पनि बुझ्न आवश्यक ठानेनन् खनालले ।
बिहान ७ः३० बजेको समाचार वाचन गरेर गएकी निर्मला एकाएक बिरामी भएर अफिस आउन नसक्ने खबर पाउँदा ‘खै निर्मलासंगै कुरा गरौंन !’ भन्ने ठाउँ थियो । तर, खनालले केही भयो होला भनेर सामान्यरुपमा लिए । अर्को निर्मला अप्ठ्यारो परेमा मात्रै विदा बस्ने मान्छे ।
एफएम नजिकै (सुख्खडमै) विगत ५ वर्षदेखि भाडाको कोठामा दिदी भविसरासंगै बस्थिन निर्मला ।
बिहानको समाचार पढेपछि सधैं खाना खान जाने र करिब १० देखि ११ बजेसम्म फेरि अफिस फर्किने दैनिकी थियो उनको । तर, त्यो दिन भने करिब ११ः३० तिर दिदीको फोन आउँदा अफिस आइपुग्ने समय घड्की सकेको थियो ।
दिदीले विरामी भएकोले आउदिनन् भनिदिनुपर्ने र निर्मला आफैले खबर गर्न नसक्ने गरी के बिरामी भइन् होली ? यतातिर सोच्ने वा क्रसचेक गर्न सकिन्थ्यो । तर, कुरा सामान्य लागेपछि असामान्य सोच्ने कुरै भएन ।
……… टिनिनि…… टिनिनि……
त्यसै दिन बेलुका करिब ७ः३० बजे खनालको मोबाइलमा घण्टी बज्छ ।
त्यो घण्टी बिहानदेखि बजेका अरु घण्टीजस्तै थियो । तर, कुरा भने असामान्य ।
‘सर, निर्मला घर पुगिनन् किन ढिला भयो ?’
‘को बोलेको ?’
‘निर्मलाको दाई विशाल पहराई ।’
यो संवादले खनालको मथिंगल हल्लायो । बिहान सामान्य लाग्ने दिदी कृष्णासंगको खबरभन्दा यो संवाद असामान्य थियो । अन्तमा यो घटनाले असामान्य मोड् लिएरै छोड्यो ।
निर्मला सम्पर्कविहिन
विगत पाँच वर्षदेखि सुख्खडमा भाडामा बसिरहेकी दिदी भविसरा (विवाहित) संगै बस्थिन् निर्मला ।
हरेक दिन बिहान समाचार पढ्नु र सुख्खडमै रहेको भाडाको कोठामा खाना खाएर फेरि १० बजेपछि नियमित काममा फर्किनु निर्मलाको दैनिकी नै थियोे ।
उनी सधैं झैं भदौं ३१ गते पनि बिहान ७ः३० बजेको मुलखबर वाचन गरेर कोठा गईन् । तर, अरु दिनजस्तै फेरि कार्यालय फर्किनन् ।
निर्मलाले नुहाईधुवाई गरिन् । ३० गते साँझ बहिनीहरु (भविसरा र निर्मला) लाई भेट्न आएकी दिदी कृष्णासंग आफूलाई पैसा चाहिने कुरा बताइन् । ‘तिमीलाई किन चाहियो पैसा ?’ दिदी भविसराले प्रश्न तेस्र्याइन् ।
‘मैले तपाईँसंग होइन, दिदी (कृष्णातर्फ देखाउँदै) संग मागेको’ निर्मलाले जवाफ फर्काइन् । तर, पैसा चाहिने कारण भनिनन् ।
‘मसंग पनि पैसा छैन त’ कृष्णा बोलिन् ।
‘हैन मलाई आज जसरी नि पैसा चाहिने हो’ निर्मलाले यति भनेपछि दिदी कृष्णाले आफ्नो पैसा जम्मागर्ने स्थानीय युनिक नेपाल लघु वित्तलाई फोन् गरिन् र पैसा कति छ भनेर सोधिन् ।
‘झिक्नमिल्ने जम्मा ५ सय छ’ भन्ने जानकारी पाएपछि त्यहीं पाँच सय लिन दुई दिदीबहिनी बजार निस्किए ।
बहिनी निर्मला फोनमा कुरा गरिरहेकी थिइन् । बहिनीलाई बाहिरै छोडेर दिदी पैसा झिक्न गइन् । तर, आउँदा माहोल अर्कै थियो ।
‘तिमीले हिजो साँझ किन गाली गरेको ?’
निर्मला अरु दिनभन्दा फरक शैलीमा आक्रोसित हुँदै फोनमा बोलिरहेको कुरा दिदी कृष्णाले सुनिन् ।
‘किन के भयो ? कोसंग कुरा गर्दैछस् ?’
निर्मलाले कुरा केही होइन भनेर टार्न खोजिन् तर अनुहारमा तनाव प्रष्ट छचल्किरहेको थियो ।
धेरै कर गरेपछि निर्मलाले ललित भन्ने केटाको विषयमा रिया भन्ने केटीले फोन गरेपछि झगडा भएको बताइन् ।
यति बेलासम्म पनि निर्मलाको रिस मरिसकेको थिएन । उनले दिदी कृष्णालाई आज रिया भन्ने केटीलाई जसरी पनि नभेटि छाड्दिन भनिन् ।
‘जे कुरा गर्नुछ पछि गरौला, तिमी अहिले कोठामा जाउँ’ दिदी कृष्णाले निर्मलाको हातमा ३ सय थमाइन र आफू छुट्टिइन् ।
यो कुरा घोडाघोडी नगरपालिका–४ जनकपुरमा रहेका परिवारलाई भने थाहा थिएन ।
तर, बेलुका एकाएक खबर आयो ‘निर्मला बेपत्ता भईन् भनेर ।’
यो बीचमा परिवार अफिस गएको र अफिसमा निर्मला बिरामी भएकाले घरमै बसेको भन्ने लाग्छ ।
बेलुका निर्मला कार्यरत कैलाली एफएममा उनका दाजु विशाल पहराईले खबर गरेपछि मात्रै यो सबै कुरा खुल्छ ।
त्यसपछि खोजी सुरु हुन्छ ।
आफन्त र प्रहरी खोजविनमा
३१ गते बेलुका ७ः३० बजेपछि निर्मला अफिसमा नरहेको र घरमा पनि नभएको थाहा भएपछि त्यो दिन आफन्तले सम्भावित ठाउँहरुमा बुझ्छन् । तर, उनी कतै भेटिदैनन् ।
त्यही रात हल्ला फैलिन्छ र निर्मलाले प्रायः कुरा गर्ने साथीहरुको खोजी हुन्छ ।
बुझ्दै जाँदा निर्मलाले आफ्नो नजिकको एकजना केटी साथीसंग आफू ललित कहाँ जान लागेको भनेको कुरा थाहा हुन्छ ।
त्यहीं आधारमा प्रहरीले असोज १ गते खोजविन सुरु गर्छ र त्यही दिन ललित जाग्रीलाई पक्राउ गरिन्छ ।
निर्मला हराएको दिन बिहान फोनमा झगडा गरिएको भनिएकी रियाकोसमेत खोजी हुन्छ । सुरुमा ललितले रिया नाम गरेकी केटीलाई आफूले चिन्दै नचिनेको बताउँछन् ।
तर, प्रहरीले केरकार गरेपछि आफ्नो प्रेमिका भएको स्वीकार्छन् र ती केटीलाई पनि सोही दिन पक्राउ गरिन्छ । तर, उनीहरुका आफन्त र वडाध्यक्षको रोहबरमा सोही दिन दुबै जनालाई छोडिन्छ ।
झुण्डिएको अवस्थामा शव
असोज २ गते आफन्त र परिवारले सम्भावित ठाउँहरुमा खोजी तिब्र पार्छन् ।
त्यही दिन निर्मलाकी दिदीले रिया र ललितलाई सुख्खडमा बस्ने गरेको कोठामा बोलाउछन् । उनीहरुबीच करिब डेढ घण्टा कुरा हुन्छ ।
निर्मलाको दाईले बताएअनुसार खोजविनमा ललितले पनि सघाउँछन् ।
खोजविनकै क्रममा ललितले परिवारलाई तपाईँहरु आफन्तकोमा बढी केन्द्रित हुनुहोस् म जंगलतिर खोज्छु भन्छ ।
त्यसपछि परिवारले ललितमाथि शंका गर्छन् । ललितसंग छुट्टिन्छन् र उनले भनेको भन्दा उल्टो जंगलतिर खोज्न थाल्छन्, त्यो पनि ललितको घर वरिपरि ।
अन्ततः असोज २ गते घोडाघोडी नगरपालिका–५ मा रहेको फुलबारी सामुदायिक वन (ललितको घरभन्दा करिब ढाइसय मिटर टाँढा) को रुखमा झुण्डिएको अवस्थामा निर्मलाको शव फेला पर्छ ।
आफन्तले शव भेटिएको जानकारी प्रहरीलाई दिन्छन् ।
शवको अवस्था
इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख एवं डिएसपी सागर बोहराका अनुसार शव रुइनाको सानो रुखमा झुण्डिएको, जमिनभन्दा करिब ७ इन्चमाथि खुट्टा, चप्पल र छाता नजिकै तर घडी करिब ७/८ मिटर टाढा रहेको, घटनास्थलमा घाँस मडारिएको, खुट्टाको कापमा माटो (सायद पानी परेकोले भुइँको छिट्टा परेको हुनसक्ने) र घाँटीमा घाउजस्तो देखिएको ।
आफन्त र घटनास्थलमा गएकाहरुको भनाई अनुसार झुण्डिन प्रयोग भएको दोपट्टाले घाँटीमा ३ वटाजति गाँठो पारेको, कपालले आधा अनुहार छोपेको, घिसारेको, खसाएकोजस्तो, माथिको कपडा (कुर्ता) अलिकति च्यातिएको (उध्रेको) र माथि सिउरिएको ।
रुइनाको रुख करिब ६ फिट अग्लो । मान्छे नै ४ फिटभन्दा अग्लो, भुँइबाट ७ इन्चभन्दा माथि शव । रुखमा चढी घाँटीमा पासोँ हालेर हाम फाल्ने कुनै सम्भावना नरहेको, तलबाट बाँध्न कुनै साधनको सहारा नलिएको, छटपटाउने अवस्थामा हातले रुखका हाँगामा समाउने प्रयाप्त ठाउँ । चप्पल र छाता जस्ताको तस्तै, खुट्टाको औलाको कापमा दुगुरेर माटो गडिएजस्तो ।
घडी लाशभन्दा २०/२५ मिटर टाढा, मोबाइल अहिलेसम्म पनि गायब ।
सडकमा आन्दोलन र अस्पतालमा शव
असोज २ गते शव भटियो । जहाँ जस्तो अवस्थामा शव भेटिएको थियो त्यसले मानिसहरुमा शंका उत्पन्न हुन थाल्यो । घटनास्थल, शवको अवस्था र झुिण्डएको रुख हेरेका तर निर्मलालाई नदेखेकाहरु सबैले भन्न थाले ‘यो आत्महत्या कसरी हुन सक्छ ?’
चिनेकाहरुले भन्छन् ‘उ आत्महत्या गर्नेजस्तो मान्छे नै होइन । आवेग र तनावलाई व्यवस्थापन गर्ने अठोट र साहस थियो उनमा ।’
सुदूरपश्चिमको राजधानी कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा शवले पोष्टमार्टम पर्खिरहेको थियो । आफन्त, घर, परिवार भावबिव्हल । दाई विशाल पराईलगायत आफन्त र सरोकारवाला मृत्युको कारण खोज्न छट्पटिरहेको । केही सरोकारवालाहरुले रहस्यमय मृत्यु भनेर छानविनका लागि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइरहेका ।
त्यहीं दिन उनकै सहकर्मी ललित जाग्रीलाई सुख्खडमा प्रहरीले पक्राउ गर्छ ।
आशंका, भय र त्रासकैबीच अन्त्येष्टिः
प्रहरीका अनुसार सायद ३१ गते नै घटना भएको हुनुपर्छ । त्यही कारण शव भेटाएकै दिन तीनदिन भइसकेको थियो । चौथो दिन अर्थात् शव भेटिएको दोस्रो दिनसम्म पनि पोष्टमार्टम हुन नसकेपछि शव गन्हाउन थाल्यो ।
पाचौं दिन पोष्टमार्टम गर्ने निधो भयो । तर, शव जलाउने विषयमा टुंगो लागेन । कारण थियो शव जलाएपछि पोष्टमार्टम रिपोर्ट गलत बनाइएमा के गर्ने ?
निर्मला पन्त काण्डबारे धेरै प्रश्न अनुत्तरित रहेकै बेला निर्मला पहराईको पनि त्यसै पो हुने हो कि ! धेरैलाई यहीं आशंका थियो । अन्तिममा शव जलाउने सहमति भयो । पाँचौ दिन अर्थात असोज ४ गते अन्त्येष्टि गरियो ।
सोही दिन घटनामा किटानी जाहेरी दिएकी अर्की केटी अर्थात रियालाई प्रहरीले पक्राउ गर्यो ।
अहिले २ जना ललित र रिया हिरासतमा छन् । अनुसन्धान जारी छ ।
परिवार र सरोकारवाला पोष्टमार्टम रिपोर्टको पर्खाइमा छन् ।
‘पत्रकार पहराई प्रकरणः हत्या कि आत्महत्या ?’ हरेकले गर्ने प्रश्नको जवाफ त्यो रिपोर्टले दिन्छ कि दिन्न त्यो भने हेर्न बाँकी छ ।
(नोटः यो रिपोर्ट स्थलगत रुपमा प्रहरी, पहराईको परिवार, आफन्त, कार्यरत एफ.एम, सरोकारवालासँगको कुराकानीमा आधारित भएर तयार पारिएको हो ।)








प्रतिक्रिया राख्नुहोस्