तपाईँ सुन्दै हुनुहुन्छः

बन्द भए सल्यानका टोल सिकाई केन्द्र


सल्यान । सल्यानका स्थानीय तहले सञ्चालन गरेको टोल सिकाई केन्द्र बन्द भएका छन् । विद्यालय बन्द भएपछि टोल सिकाई केन्द्र मार्फत जिल्लाका स्थानीय पालिकाहरुले टोल सिकाई केन्द्रबाट विद्यार्थीहरुलाई पढाँउदै आइरहेका थिए ।

जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै पठनपाठन बन्द गर्न सूचना जारी गरेपछि जिल्लाका दश वटै स्थानीय पालिकामा सञ्चालन भइरहेका टोल सिकाई केन्द्र बन्द भएका हुन ।

सरकारले बालबालिकाको पठनपाठन प्रभावित हुन नदिन वैकल्पिक शिक्षण निर्देशिका जारी गरेपछि जिल्लाका दुई सय बढी विद्यालयले टोल सिकाइ केन्द्र सञ्चालन गर्दै आइरहेका थिए ।

जिल्ला प्रशासनले जमघट लगायतका भेला सम्मेलन गर्न निषेध गरेपछि सिकाइ केन्द्रको पठनपाठन बन्द गरिएको शिवजन माध्यमिक विद्यालय श्रीनगरका प्रधानाध्यापक हिरालाल नेपालीले बताए । ‘शिक्षकहरुलाई टोल टोलमा पु¥याएर पठन पाठन गराइ रहेका थियौ तर प्रशासनले रोके पछि त्यो पढाई पनि बन्द गरेका छौ’ उनले भने ।

१२ सिकाइ केन्द्र मार्फत विद्यार्थीहरुलाई पढाई रहेको जनज्योति माध्यमिक विद्यालय फारुलाले पनि पढाई बन्द गरेको प्रधानाध्यापक मीन बहादुर ओलीले बताए । विद्यार्थीको पढ्ने बानीको विकास होस र पहिले पढेको नर्बिसुन भनेर गाउँ गाउँमा पढाई रहेका थियौ तर प्रशासनले कोरोना कहर देखाउँदै बन्द गर्न सूचना जारी गरेपछि बन्द गरिएको उनको भनाई छ ।

विद्यालय बन्द भएको ६ महिना वितिसक्दा पनि विद्यालय जान नपाएका विद्यार्थी आफ्नै गाउँमा पढ्न पाउँदा निकै खुशी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button