नेकपाको जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्युनिकरण तथा सहजीकरण कार्यदल
सिन्धुपाल्चोक -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लालाई प्राकृतिक प्रकोपकबाट बचाउन नयाँ अभियान थालनी गरेको छ ।
नेकपाले जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्युनिकरण तथा सहजीकरण कार्यदल–२०७७ निर्माण गरी जोखिम सम्बन्धी प्रारम्भिक सर्वेक्षण प्रतिवेदन समेत निर्माण गरेको हो । सोही प्रतिवेदन उपर पार्टीका शिर्ष नेताहरु, जिल्ला तहका नेताहरु तथा जनप्रतिनिधि बीच शनिबार सुकुटमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
सरकारले सिन्धुपाल्चोकलाई विपद संकट ग्रस्त जिल्ला घोषणा गरेसँगै नेकपा सिन्धुपाल्चोकले जोखिमयुक्त बस्ति स्थानान्तरणको प्रारम्भिक सर्वेक्षण प्रतिवेदनमाथि पार्टी र जनप्रतिनीधिबीच छलफल गरेको छ ।
नेकपा जिल्ला कार्यालयले प्राकृतिक प्रकोप अध्ययन, न्यूनिकरण तथा सहजिकरणका लागि जिल्लास्तरीय कार्यादल नै गठन गरि नेताहरुलाई बाढी पहिरोग्रस्त क्षेत्रमा खटाएको थियो ।
७ सदस्ययी कार्यदलले बाढी पहिरोग्रस्त क्षेत्रमा पुग्दै पीडित प्रभावितसँग अन्तरक्रिया गरि सुरक्षित स्थानमा बस्ति स्थानान्तरणका लागी सम्बन्धित निकायमा सिफारीस गर्ने भएको छ । जिल्लाका जोखिमयुक्त बस्तिको पहिचान र स्थानान्तरणका लागी बैकल्पिक स्थानसहितको प्रतिवेदन सम्बन्धित निकायमा पेश गरिने नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले बताउनुभयो ।
शनिबारको अन्तरक्रियात्मक कार्यक्रममा पूर्वमन्त्री एवम केन्द्रिय अनुसासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, प्रतिनीधि सभा सांसद एवम केन्द्रिय सदस्य शेरबहादुर तामाङ, केन्द्रिय सदस्य एवम प्रदेश सरकारका मन्त्री अरुणप्रसाद नेपाल, युवराज दुलाल, प्रदेश सांसद सरेश नेपाल लगायत नेकपाका स्थानीय जनप्रतिनीधि र पार्टी नेताहरु सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनीधिहरुले आ आफ्ना गाउँनगरमा विपद जोखिमका अवस्थाबारे ब्रिफीङ गर्नुभएको थियो ।
जिल्लाभर ३ सय भन्दा बढि बस्ति जोखिममा रहेको र ती बस्ति स्थानान्तरणका लागि नेकपाले कार्यदल नै बनाएर राजनीति तहबाट पहल थालेको नेकपाका केन्द्रिय सदस्य एवम कार्यदलका संयोजक माधव सापकोटाले बताउनुभयो ।
नेकपा सिन्धुपाल्चोकको प्रकोप अध्ययन, न्यूनिकरण तथा सहजिकरण कार्यदलले कमजोर भू बनोट र विकास निर्माण कार्यबीच तालमेल नमिल्दा विपद निम्तिएको निष्कर्ष निकालेको छ ।
प्रकृतिक सेतहरुको अव्यवस्थित र अत्याधिक दोहन पनि विपदको कारण भएको कार्यदलको निष्कर्ष छ । कार्यदलको प्रारम्भिक प्रतिवेदनमा जोखिमयुक्त र न्यूनतम मापदण्ड नपुगेको ग्रामीण सडक पनि प्राकृतिक विपदको कारण मानिएको छ ।
सुरक्षित जमिनको पहिचान गर्दै जिविकोपार्जनको उपायसहितको बस्ति स्थानान्तरणका नेकपाले जोड दिएको छ । जग्गा सट्टापट्टाको व्यवस्था गर्दै जोखिमका जनताकै सहभागितामा व्यवहारीक र वैज्ञानिक योजना निर्माण गर्नुपर्ने कार्यदलको सुझाव छ ।
साविकको बस्तिको झल्को दिनेगरि सामाजिक, साँस्कृतिक र भावनात्मक पक्षहरुको समेत विचार गरि स्थानान्तरणको योजना ल्याउनुपर्ने निष्कर्षसहित सम्बन्धित निकायमा सुझाव पेश गर्न लागीएको कार्यदलका सदस्य सुभाष कर्माचार्यले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्