तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीको सुर्नया गाउँपालिकाका बजारहरु अनुगमन

बैतडी-बैतडीको सुर्नया गाउँपालिका स्थीत मुख्य बजारहरुको अनुगमन गरिएको छ । हिजो सतबाँझ, सिउडे, धर्मघर, सिन्केलेक, गोयलागैर लगायतका बजारहरु अनुगमन गरिएको सुर्नया गाउँपालिका उपाध्यक्ष लिला बिष्टले बताउनुभयो । जिल्ला स्थीत संयुक्त बजार अनुगमन समितिले उक्त बजारहरु अनुगमन गरेको हो ।

बजारमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री विक्रि वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका बिषयमा जानकारी दिने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिनुभयो । अनुगमनका क्रममा ६ हजार बढीको म्याद गुज्रेको सामग्री बरामद गरी नष्ट गरिएको उहाँले बताउनुभयो ।

पिठो, तेल लगायतका म्याद गुज्रेका सामग्री बरामद गरेर नष्ट गरिएका हुन् । यस्तै धेरै पसलहरुमा मूल्यसूची नभएकाले मूल्य सूची राख्न र दर्ता नभएकाहरुलाई यथाशीघ्र सम्बन्धित निकायमा दर्ता गर्न आग्रह गरिएको लेखकले बताउनुभयो ।

अनुगमन कार्यमा सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला बिष्ट, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख अम्बादत्त जोशी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

बजार अनुगमन कार्यलाई अझै निरन्तरता दिने संयुक्त बजार अनुगमन समितिले जनाएको छ । उपभोक्ता अधिकारका बिषयमा उपभोक्ताहरु पनि जागरुक हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख लेखकले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button