तपाईँ सुन्दै हुनुहुन्छः

जफत गरिएको प्याज बिहीबारदेखि बिक्री गरिने

काठमाडौं । बजार अनुगमनका क्रममा सरकारी टोलीले तरकारी बजारबाट जफत गरेको १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि बिक्री गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उपभोक्ता अधिकार मञ्च र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । अनुगमनका क्रममा जफत प्याज त्यतिकै राख्दा नष्ट हुने भएकाले खाद्य कम्पनीमार्फत उपभोक्तालाई बिक्री गर्ने निर्णय गरेको हो ।

खाद्यको रामशाह पथस्थित बिक्री कक्षबाट बेच्न राखिने तयारी गरिरहेको कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले बताइन् । बुधबारदेखि बिक्री गर्ने भनिए पनि प्याज ढुवानीमा ढिलाइले एक दिन पछि सरेको हो ।

सुवेदीका अनुसार उक्त प्याज उपभोक्ताले प्रतिकेजी ६० रुपैयाँले किन्ने पाउने छन् । एकजनालाई ३ केजीसम्म खरिद गर्न दिइने छ । कम्पनीले प्रतिकेजी ५२ रुपैयाँमा किनेर प्रतिकेजी ६० रुपैयाँमा बिक्री गर्ने लागेको हो । ढुवानी, प्याकिङ र कर्मचारी खर्च जोडेर मात्र बिक्री गर्ने तयारी छ ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यापारीले कालोबजारी गर्न थालेका थिए । लगत्तै अनुगमन थालिएको थियो । त्यस क्रममा टोलीले कालिमाटी, बल्खु, तिनकुनेका तरकारी बजारबाट करिब १२ हजार केजी प्याज जफत गरेको हो । कालोबजारी गर्ने व्यापारीलाई उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारवाहीको प्रक्रिया पनि अगाडि बढाइएको छ ।

व्यवसाय दर्ता नगरी प्याजको कारोबार गर्ने व्यवसायलाइ समेत कागजपत्र सहित विभागमा उपस्थितको लागि बोलाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button