अविरल वर्षाबाट झापाको जनजीवन प्रभावित, सतर्क रहन प्रशासनको अनुरोध
झापा । मंगलबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण झापाको जनजीवन निक्कै प्रभावित बनेको छ ।
लगातारको वर्षासँगै खोलामा आएको बाढीले जिल्लामा केहीको घर बगाएको छ भने खोला किनारका धेरै स्थानमा डुबानसँगै जमिन कटान भइरहेको जिल्ला प्रहरी प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभएको छ ।
देउनिया खोलाले हल्दिबारी गाउँपालिका ३ स्थित देवी बस्तीमा दिलबहादुर राईको १४ कट्ठा जमिन कटान गर्नुका साथै भान्साघर बगाइसकेको छ भने मुख्य घरा पनि पानी पसेको छ । उनको घरभित्र राखिएको सामान निकालिएको छ ।
त्यस्तै, शुक्रराज योङहाङ, लक्ष्मीमाया आङ्बो र जनक भुजेलको घर पनि डुबानमा परेको डिएसपी थापाले बताउनु भयो ।
यस्तै, भारतसँग समिा जोडिएको मेची नदीमा आएको बाढीले कचनकवल गाउँपालिका ५ पाठामारीस्थित ११२ नम्बर समिा पिल्लरनजिक जमिन कटान भइरहेको छ । अहिले त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ भने स्थानीयलाई सतर्क बस्न आग्रह गरिएको छ ।
त्यस्तै बिरीङ नदीमा आएको बाढीले कनकाई–८ स्थित त्रिवेणी टोलमा कटानका कारण ६ घर जोखिममा परेका छन् भने बाह्रदशी–७ स्थित तुलसीबारीमा पनि जमिन कटान गरिरहेको स्थानीयले बताएका छन् ।
नदीमा पानीको बहाव बढ्ने क्रममा रहेकोले उनीहरूलाई इलाका प्रहरी कार्यालय सुरुङाको टोलीले स्थानीय तहसँग समन्वय गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताइएको छ ।
अहिले जिल्लाको मेची, हँडिया, निन्दा, बिरीङ, कनकाई, रतुवा, देउनिया, अदुवालगायतका खोलामा पानीको बहाव तीब्र रुपमा बढिरहेको नेपाल रेडक्रस सोसाइटी झापाको जल मापन केन्द्रले जनाएको छ ।
नदी आसपास बसोबास गर्ने स्थानीयलाई सुरक्षित र सतर्क रहन जिल्ला प्रशासन कार्यालय झापाले अनुरोध गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्