तपाईँ सुन्दै हुनुहुन्छः

लुक्ला जाने सबै यात्रुको पीसीआर परीक्षण नेगेटिभ हुनुपर्ने

सोलुखुम्बु – सोलुखुम्बुको व्यस्त विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई जहाजमार्फत लुक्ला आउने सबै यात्रुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने भएको छ । खुम्बु पासाङल्हमू गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीहरुलाई पत्र लेखेर पीसीआर नेगेटिभ भएका यात्रुलाई मात्र उडान अनुमति दिन भनेको हो ।

यसअघि पर्यटकीय सिजनमा निकै व्यस्त हुने तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तारा, सीता र समिट एयरलाइन्सका हवाईजहाज तथा हेलिकप्टरले दैनिक दर्जनौँ उडान गर्ने गरेका छन् । अब शुरु हुन लागेको अटम सिजनमा सगरमाथा क्षेत्रमा पदयात्रा तथा पर्वतारोहण हुने गर्दछ । अघिल्ला वर्षहरुमा यो समयमा दैनिक एक सय भन्दा बढी दैनिक उडान हुने गरेका थियो ।

तर यस वर्ष कोरोना कहरका कारण स्प्रिङ सिजन सुनसान भए पनि यस सिजनमा विमानस्थलमा सरकारले उडान खुला गरेपछि गाउँपालिकाले पीसीआर नेगेटिभ रिपोर्ट नभएकालाई उडान अनुमति नदिन अनुरोध गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनसँगै बन्द रहेको आन्तरिक उडान सोमबारदेखि सुरु भएको छ । लुक्ला आउने आन्तरिक तथा बह्य देसका यात्रु तथा पर्यटकलाई यस्तो व्यवस्था गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button