तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु 

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण आज थप १० जनाको निधन भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका तीन महिला र एक पुरुष, ललितपुर र भक्तपुरका एक–एक जना महिलाको निधन भएको हो ।

त्यसैगरी चितवनका एक, रुपन्देहीका एक पुरुष र पाल्पाको एक महिलाको पनि कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।

आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५ सय ८४ जनामा गरिएको पिसिआर नमुना परीक्षणमा १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यस्तै आज काठमाडौँमा ६ सय २ जना, ललितपुरमा ६४ जना र भक्तपुरमा १ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म देशभरिमा ं१७ हजार ४ सय ७८ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, गत २४ घण्टामा थप आज ९ सय ६६ जना कोरोना संक्रमण मुक्त भएर डिस्जार्च भएका छन् । हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ ।

मन्त्रालयका अनुसार उपचारपछि निको भई घर फर्कनेको संख्या ७२ प्रतिशत रहेको छ ।

यस्तै सक्रिय संक्रमितहरुमध्ये १ सय ९० जनाको आइसियुमा र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले अबदेखि कोरोना संक्रमितका लागि आइसुलेसनको व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको जानकारी गराउनुभयो ।

होम आइसोलेसन वा संस्थागत आइसुलेसनमा राखिएका व्यक्तिहरुलाई १४ दिनपछि अनिवार्य रुपमा डिस्चार्ज गर्न पनि सूचना जारी गरिएको प्रा.डा गौतमले जानकारी दिनुभयो ।

प्रा.डा गौतमले कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुले तत्काल परीक्षण गर्ने गरेको पाइएकाले त्यस्ता व्यक्तिहरुलाई पाँच दिन होमक्वारेन्टाइनमा बस्न अनुरोध गर्दै छैटौं दिनमा मात्रै पिसिआर परीक्षण गर्न प्रा.डा. गौतमले अनुरोध गर्नुभयो ।

पछिल्लो समयमा पिसिआर परीक्षणमा फल्स नेगेटिभ आउने क्रम बढेको गुनासो मन्त्रालयमा आएको र त्यस सम्बन्धमा अध्ययन भइरहेको जानकारी दिँदै प्रा.डा. गौतमले प्रयोगशाला सञ्चालकहरुलाई प्रयोगशालाको गुणस्तर कायम राख्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button