तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ सरकारले कोरोना नियन्त्रण विशेष अभियान सञ्चालन गर्ने

सुनसरी । कोरोना भाइरसको महामारी भएको ७ महिनापछि प्रदेश १ सरकारले विशेष सचेतना अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रदेश १ सरकारले नागरिकलाई २१ दिन घरभित्रै बस्ने आग्रह सहितको अभियान चलाउने तयारी गरेको हो ।

कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश १ अन्तर्गतका झापा, मोरङ र सुनसरी जिल्लामा कोरोना संक्रमणको जोखिम तुलनात्मक रुपमा बढी भएको भन्दै ३ जिल्लामा विशेष अभियान सञ्चालन गर्ने अभियानको कार्यविधि मुख्यमन्त्री शेरधन राईले स्वीकृत गरेका छन् ।

प्रदेश १ को आधा भन्दा बढी जनसंख्या बसोबास गर्ने तीन जिल्लाका सबै घरधुरीमा पुगेर सरकारले जनतालाई सचेत गराउने क्रममा हरेक घरमा दुई डल्ला साबुन, सेनिटाइजर, मास्क र स्वास्थ्य सचेतना सम्वन्धी ब्रोसर पुर्याउने सरकारको उद्देश्य रहेको छ ।

प्रदेश १ सरकारले स्थानीय तहहरुमा खाजा खर्च उपलव्ध गराउने र स्थानीय तहमार्फत वितरण गर्ने गरी कार्यविधि तय गरेको छ ।

प्रदेशका १४ वटै जिल्लामा क्रमश अभियानलाई विस्तार गर्ने अभियान सञ्चालनका लागि २ करोड ८५ लाख रुपैयाँ खर्च हुने प्रदेश सरकारले अनुमान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button