बीरगंजमा उपचाररत तीन जना सङ्क्रमितको मृत्यु

बीरगंज । बीरगंजमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ८० बर्षीय बृद्धसहित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड अस्पताल होटल बाबा इन्टरनेशनलमा उपचारार्थ भर्ना भएका बाराका ६५ बर्षीय पुरुष र रौतहटका ६१ बर्षीय पुरुषको उपचारकै क्रममा आज मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ्गले जानकारी दिनुभयो ।
पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ५ कुम्हालटोल रेश्मकोठीका ८० बर्षिय बृद्धलाई स्वासप्रस्वासमा समस्या भएपछि आज विहान नारायणी अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको आज दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।
मृतकको विहान स्वाब संकलन गरी परिक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको समेत प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।
यसैगरी नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड अस्पताल होटल बाबा इन्टरनेशनलमा हिजो साँझ संक्रमित भई उच्च ज्वरो, स्वासप्रस्वासको समस्या बढदै गएपछि उपचारका लागि बाराबाट आएका ६५ बर्षिय पुरुष र रौतहटका ६१ बर्षिय पुरुषको समेत उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।
बीरगंजका मृतकको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको र रौतहट र बाराका मृतक सङ्क्रमितहरुको शव सम्बन्धित जिल्लामा पठाइने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्