तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमण नियन्त्रणसँगै वीरगञ्ज पुरानै लयमा फर्कियो

वीरगञ्ज । पर्सामा समुदाय स्तरमा फैलिएको कोरोना नियन्त्रण हुदै गएपछि अहिले जनजीवन सामान्य भएको छ भने उद्योग, कलकारखाना, बजार यातायात खुलेसँगै वीरगञ्ज पुरानो लयमा फर्किएको छ ।

पछिल्लो कोरोना संक्रमितको तथ्यांक अनुसार गएराति थपिएका १४ जना सहित पर्सामा २ हजार ४ सय ६५ जना संक्रमित भएकोमा आज अपरान्ह सम्म २ हजार ३ सय ५१ जना डिस्चार्ज भएसँगै पर्सामा १ सय १४ जना मात्रै संक्रमितहरु रहेको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिनुभयो ।

वीरगञ्जमा अहिले नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा ३४ जना, नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड अस्पताल होटल बाबा इन्टरनेशनलमा ४ जना र वीरगञ्जका विभिन्न सामुदायिक आईसोलेशन सेन्टरमा ७६ जना गरी १ सय १४ जना संक्रमितहरुको उपचार भई रहेको छ ।

अहिले वीरगञ्ज तथा पर्सा जिल्लामा होम आईसोलशनमा रहनेको संख्या शुन्य झरेको समेत प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो । वीरगञ्जमा कोरोना संक्रमण नियन्त्रण भएपछि अहिले नारायणी अस्पताल र नारायणीकै अस्थायी कोभिड वीरगञ्ज हेल्थ केयर अस्पतालले जनरल र ओपीडि सेवा सुरु गरिसकेका छन ।

कोरोना संक्रमणको हटस्पट बनेको वीरगञ्जमा कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थानिय प्रहरी प्रशासन, नागरिक समाज, चिकित्सक, स्वास्थ्यकर्मी र आम सर्वसाधारणको भूमिका महत्वपूर्ण रहेको र सिमा क्षेत्रमा आवत जावतमा लगाईएको प्रतिबन्धले कोरोना संक्रमणलाई नियन्त्रण गर्न सकिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button