तपाईँ सुन्दै हुनुहुन्छः

रारा तालको वरिपरि साइकल लेन बन्दै, मुख्यमन्त्रीद्वारा शिलान्यास

जुम्ला  । नेपालकै सबैभन्दा ठुलो रारा तालमा साइकल लेन बन्ने भएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा नेपालको पर्यटन गन्तव्य रारा तालमा साइकल लेन निर्माण हुने भएको हो ।

स्वर्गकी अप्सरा उपमा पाएको नेपालकै सबैभन्दा ठुलो ताल रारा ताल वरिपरि चलाउन मिल्ने गरी साइकल लेन निर्माण थालिएको छ ।

प्रदेश सरकारको लगानीमा तालको वरिपरि साइकल लेन बनाउन बिहीबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ ।

उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेर रोकायाका अनुसार क्रमागत योजनाको रूपमा आर्थिक वर्ष २०७६÷०७७ मा तीन करोडको ठेक्का आव्हान गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार साइकल लेन निर्माणको जिम्मा पाएको शङ्कर माली जेभी निर्माण कम्पनीले दुई करोड ८८ लाखमा लिने कबोल गरेको छ । भने, यो वर्ष एक किलोमिटर लम्बाई र एक दशमलव ६ मिटर चौडाइसहितको ब्लक निर्माण गरिने भएको छ । तालको वरिपरिको लम्बाई भने साढे चौध किलोमिटर रहेको रोकायाको भनाई छ ।

पर्यटन मन्त्री बुढाले यो वर्ष एक किलोमिटर बनाइने र आगामी वर्ष  बजेट थप्दै तालको वरिपरि साइकल लेन बनाइने बताउनुभयो ।

साइकल लेन बनाइएको खण्डमा आन्तरिक तथा बाह्य पर्यटनले यस क्षेत्रको आय स्तरमा वृद्धि हुने र त्यसले थप रोजगारी पाउने विश्वास गरिएको छ ।

मुख्यमन्त्री शाहीले रारा ताल प्राकृतिक सम्पदाको धनी क्षेत्र भएको बताउँदै ताल क्षेत्रमा अन्य सवारी साधन नपुर्‍याइने बताउनुभयो । तालको प्राकृतिक स्वरूपको जगेर्ना गरिराख्न मिली चौरभन्दा तल साइकल मात्रै लैजान पाइने र साइकल यात्रा गर्न दिइने उहाँको भनाई छ ।

रारा ताल वरिपरि साइकल लेन निर्माण भएको खण्डमा आन्तरिक तथा बाह्य पर्यटकलाई करिब साढे १४ किलोमिटर तालको वरिपरि घुमफिर गर्न सहज हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button