झापामा पीसीआर परीक्षणको लागि दोस्रो प्रयोगशाला सञ्चालनमा

भद्रपुर, झापा । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि झापामा पीसीआर परीक्षणका लागि दोस्रो प्रयोगशाला औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
एकका लागि एक अभियानको अग्रसरतामा जनस्तरमा रकम सङ्कलन गरी कनकाई नगरपालिकाको कोटीहोमस्थित समर्पण भवनमा स्थापित प्रयोगशाला प्रदेश नं १ का प्रमुख सोमनाथ प्यासीले उद्घाटन गरेसँगै बुधवारदेखि सञ्चालनमा आएको हो ।
अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी सङ्घ समेतको आर्थिक सहयोगमा स्थापना भएको प्रयोगशाला प्रदेश सरकारअन्तर्गत मेची अस्पताल मातहत रहनेछ । अभियानले केही दिनअघि अस्पताललाई प्रयोगशाला हस्तान्तरणबारे सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।
करिब एक करोड रुपैयाँको लागतमा अभियानले प्रयोगशाला स्थापना गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
प्रदेश प्रमुख प्यासीले यसको दीर्घकालीन व्यवस्थापनमा प्रदेश सरकार र स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनु भएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रयोगशाला सञ्चालनको व्यवस्थापकीय जिम्मेवारी लिन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
प्रयोगशालाको क्षमता दैनिक एक हजार स्वापको परीक्षण गर्न सक्ने रहेको बताइएको छ








प्रतिक्रिया राख्नुहोस्