गल्याङ नगरपालिकाको प्रशासनिक भवन ८ करोड ३८ लाखमा बन्ने
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नयाँ बन्न लागेको प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो ।
गल्याङ नगरपालिका वडा नम्बर तीन साविकको विपिसी खेल मैदान र युवा क्लबको खेल मैदानमा बन्न लागेको भवनको शिलान्यास गर्दै नगरप्रमुख अधिकारीले विकास निर्माण र भौतिक पूर्वाधारको क्षेत्रमा नगरपालिका क्रियाशिल रहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले मुल्य अभिबृद्वि करसहित आठ करोड ३७ लाख ९१ हजार छ सय ३३ रुपैयाँ छ पैसा लागतमा भवन निर्माण हुन लागेको जानकारी दिनुभयो ।
नियम अनुसार संघीय सरकारबाट ५० प्रतिशत अनुदानको व्यवस्था रहेको र बाँकी नगरपालिकाको लगानीमा भवन बन्ने उहाँले स्पष्ट पार्नुभयो ।
विभिन्न व्यक्तिको सहयोगबाट जग्गा प्राप्त भएकाले भवन बनाउने अवस्थासम्म पुगेको भन्दै उहाँले निर्माण पुरा नभएसम्म सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । ११ स्थानीय तह रहेको स्याङ्जामा वालिङ र पुतलीबजार नगरपालिकाको मात्रै आफ्नो भवन रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्