तपाईँ सुन्दै हुनुहुन्छः

फुङलिङ नगरपालिकाले खानेपानी प्रशोधन केन्द्र निमार्ण गर्ने 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले पहिलो पटक खानेपानी प्रशोधन केन्द्र निमार्णको तयारी गरेको छ ।

नगरपालिकाका उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि प्रशोधन केन्द्र परियोजनको तयारी थालिएको हो । फुङलिङ नगरपालिकाका उपभोक्तालाई स्वच्छ पानी उपलब्ध गराउने गरी दैनिक १६ लाख लिटर पानी प्रशोधन गर्ने क्षमताको परियोजना सुरु गर्न लागिएको हो ।

हाल ताप्लेजुङ बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत नगरपालिकाका वडा १ देखि ८ वडामा विभिन्न ११ वटा रिजर्भ ट्यांकीमार्फत दैनिक १२ लाख ६० हजार लिटर पानी वितरण गदै आएको छ । सदरमुकाम समेत रहेको नगरले एक हजार ८ सय २७ वटा घरमा धारा जडान गरी उपभोक्तालाई सुविधा दिँदै आएको उपभोक्ता समितिका अध्यक्ष कमल गुरागाईले जानकारी दिनुभयो ।

समितिले उपभोक्ताको घर–घरसम्म पाइप तथा धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध गराउँदै आएको भए पनि वर्षा सिजनमा पानी धमिलो र मैलो हुने भएकाले स्वच्छ पानीका लागि प्रशोधन केन्द्र निर्माणको योजना अघि बढाइएको समेत अध्यक्ष गुरागाईले जानकारी दिनुभयो ।

नगरपालिकाको ताक्मेडाँडा नर्सरी क्षेत्रमा उच्च प्रविधियुक्त प्रशोधन केन्द्र निर्माणको योजना अघि बढाएको हो । अहिले उपभोग गरिँदै आएको पानीको मुहानमा वर्षा सिजनमा फोहोरमैला हुने समस्या रहेकाले मैलो र धमिलो पानीलाई फिल्टर गरेर स्वच्छ बनाउने गरी उक्त प्रविधियुक्त प्रशोधन केन्द्र निर्माणको तयारी थालिएको अध्यक्ष गुरागाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button