तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा प्याजको कालोबजारी शुरु, एकैदिनमा दोब्बर


रुपन्देही । प्याज निर्यातमा भारत सरकारले रोक लगाएसँगै रुपन्देहीमा प्याजको कालोबजारी शुरु भएको छ । होलसेल तथा खुद्रा व्यवसायीहरुले मनपरी ढंगले प्याजको मूल्य तोकेर बेच्न थालेका छन् ।

रुपन्देहीमा मंगलबार बिहान ७० रुपैया प्रतिकिलोमा कारोबार भएको प्याजको मूल्य साँझ ५ बजे प्रतिकिलो १ सय १० पुगेको थियो । सो मूल्यमा बुधबार वृद्धि भएर १ सय ४० पुगेको व्यवसायीहरु बताउँछन् ।

यो मूल्य होलसेलमा भएपनि खुद्रा पसलले सोही अनुसारको मूल थपेर लिन थालेका छन् ।

बुटवलको फ्रेस बजारका संचालक नेत्र आचार्यले उपभोक्ताले पनि भारतले निर्यात रोकेको समाचार सुनेपछि अनावश्यक रुपमा खरिद गर्न लागेको बताउनुभयो ।

आलु, प्याजको आयातकर्ता मोहन बानियाँले भारत सरकारले गरेको आकस्मात प्याज निर्यातको प्रतिबन्धका विषयमा नेपाल सरकारले पनि केही बोल्नुपर्ने बताउनुहुन्छ ।

रुपन्देहीमा सयभन्दा बढी व्यवसायीले प्याज आयात गर्छन्, अहिले सबैको प्याज भारततिर रोकिएको छ ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी पुण्यप्रसाद लम्सालले सोमबार अबेर सम्म भैरहवा भन्सार नाकाबाट प्याज आयात भएपनि मंगलबार र बुधबार कुनै मालबाहक प्याजका गाडी नेपाल नआएको जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक १० देखि १५ ट्रक प्याज भैरहवा भन्सारबाट पास हुन्थ्यो । भन्सारमा व्यवसायीले ल्याउने दररेट पुरानै उल्लेख छ र भन्सार दर पनि बढेको छैन तर व्यवसायीले महामारीको संकटको बेला मनपरी मूल्यवृद्धि गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार, व्यवसायीहरुको संघसंस्था उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठनले यस विषयमा अनुगमन गरेका छैनन् । जसको प्रत्यक्ष मार उपभोक्तामा परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button