सल्यानमा तीन महिनाको अवधिमा सात करोडको तरकारी निर्यात

सल्यान – सल्यानमा तीन महिनाको अवधिमा कपुरकोटका किसानहरुले करिव ७ करोड रुपैयाँको तरकारी निर्यात गरेका छन् ।
वेमौसमी तरकारी तथा फलफुल बिक्रीबाट कपुरकोेट उपज संकलन केन्द्रमा ६ करोड ९८ लाख ३० हजार ८५२ रुपैयाँ भित्रिएको छ ।
गत जेठ २० गते देखी भदौ २६ गते सम्मको रेकर्ड अनुसार कपुरकोट क्षेत्रबाट २० हजार ४सय ४५ क्विन्टल भन्दा बढी तरकारी र फलफुल निकासी भएको छ ।
टमाटर मात्रै ३ करोड ८७ लाख ७५ हजार ३ सय २४ रुपैयाँ, सिमि १ करोड १७ लाख ६९ हजार ८ सय ८१ रुपैयाँ किसानहरुले हात पारेको कृषि उपज बजार केन्द्र कपुरकोटका अध्यक्ष टंकराज नेपालीले जनाए । यस्तै ६७ लाख ५४ हजार ५सय ७ रुपैयाँ बराबरको काउली, १५ लाख ३३ हजार ६ सय २२ बराबरको बन्दा, ४४ लाख २३ हजार १सय ३० रुपैयाँ बराबरको भेडे खुर्सानी विक्रि भएको बजार केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ ।
कोरोना भाइरसका कारण यो वर्ष धेरै किसानहरुले कम मात्रामा तरकारी उत्पादन गरेको नेपालीको भनाई छ । उनले भने तरकारी बिक्री हुँदैन भनेर धेरै किसानहरुले थोरै मात्रामा तरकारी लगाउनु भयो । जसले विगतको वर्ष भन्दा यो वर्ष तरकारीले राम्रो मुल्य पायो । कोभिड १९ का कारण भारतबाट आउने तरकारी बन्द हुँदा यो वर्ष सल्यानका किसानहरुले राम्रो मुल्य पाएको उनको भनाई छ । गत वर्ष कपुरकोट कृषि उपज संकलन केन्द्रबाट मात्र २६ करोडको ताजा तरकारी तथा फलफुल निकासी भएको थियो । कपुरकोटसँगै जिल्लाका विभिन्न २८ वटा संकलन केन्द्रबाट तरकारी जिल्ला बाहिर निकासी हुदै आइरहेको छ ।
पिसिआर रिर्पोट विना बजार प्रवेशमा रोक
कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि कपुरकोटको तरकारी बजारमा थप सावधानी अपनाइने भएको छ ।
कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले यस अघि बनाइएका नियमलाई पूर्ण रुपमा पालना गर्न ब्यापारी तथा किसानहरुलाई आग्रह गरेको छ ।
कतिपय ब्यापारीहरु पिसिआर रिपोर्ट विना नै तरकारी संकलन केन्द्रमा प्रवेश गरेको भन्ने गुनासो आएपछी बजार प्रवेशमा थप कडाई गरिने भएको हो । गाउँपालिका, प्रहरी प्रशासन, ब्यापारी, किसान तथा सरोकारवालासँग समन्वय गरेर कोरोना भाइरसको दृष्टीकोणले जोखिमजन्य देखिएका सबै क्रियाकलापमा प्रतिवन्ध लगाइने कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष टंकराज नेपालीले जानकारी दिए ।
बजार केन्द्रले पिसिआर अथवा आरडिटी रिपोर्ट सहित बजार केन्द्रमा सुचिकृत भएपछि मात्रै ब्यापारीहरु कपुरकोट क्षेत्रमा आएर तरकारी खरिद गर्न पाउने नियम बनाएको छ । बजार केन्द्रका सचिव तिलक शर्माका अनुसार तरकारी विक्रि गर्ने किसान, ब्यापारी तथा लोड अनलोड गर्ने लेवरहरुले कोरोनाका नियमहरु पूर्ण रुपमा पालना गर्नुपर्छ ।
२० वर्ष अघि देखी कपुरकोट क्षेत्रमा तरकारी खरिद गर्दै आएका ब्यापारी बरुदीन राइनले आफुहरुले सबै नियम पालना गरिरहेको जनाउदै कतिपय ब्यापारीहरुले नियम उल्लंघन गरेको भन्दै बजार केन्द्रले उनीहरुलाई कारवाही गर्नुपर्ने बताए । उनले कपुरकोट क्षेत्रमा जति सक्यो धेरै व्यापारी आउने वातावरण बनाउनुपर्नेमा पनि जोड दिए । धेरै ब्यापारीहरु भएमा प्रतिष्पर्धा हुने र किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले उचीत मुल्य पाउने उनको तर्क छ ।








प्रतिक्रिया राख्नुहोस्