विदेशबाट ६० प्रतिशत कोरोना र ४० प्रतिशत अन्य कारणबाट फर्कन चाहेको
काठमाडौँ । कोरोनाको संक्रमण सुरु हुनु अघिसम्म ३२ लाख १० हजार ८ सय ४८ नेपालीहरूले कामदारको रूपमा विदेशमा काम गरेको एक अध्ययनले देखाएको छ ।
सरकारद्वारा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार पूmयालको संयोजकत्वमा गठित कोभिड महामारीको कारण नेपालको वैदेशिक रोजगारीमा पर्ने असर तथा प्रभाव र त्यसका कारण रेमिटेन्समा पर्ने प्रभावले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावको अध्ययन गरी प्रतिवेदन बुझाउन गठित उच्चस्तरीय कार्यदलले भारत, मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्समा मात्र नेपालका ७० प्रतिशत कामदारहरू रहेको उल्लेख गरेको छ । छिमेकी मुलुक भारतमा मात्र ६ महिना भन्दा बढी समय बसेका करिब १० लाख नेपाली कामदार रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
त्यसरी कार्यरत मध्ये कोरोनाको त्रास पछि ६ लाख १८ हजार ७०० जनाले एक वर्ष भित्रमा नेपाल फर्कन चाहेको बताएका र ३ लाख ६० हजार ५ सय जनाले तत्कालै नेपाल फर्कन चाहेको बताएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनले नेपाल फर्कन चाहनेहरू मध्ये ६० प्रतिशत कोभिडको कारणले र अन्य ४० प्रतिशत अन्य कारणले नेपाल फर्कन चाहेको उल्लेख गरेको छ ।
सरकारलाई बुझाउने तयारीमा रहेको प्रतिवेदनले कोरोनाको कारण विदेशबाट आउने र नेपालमा समेत बेरोजगार भएकाहरूलाई रोजगारीको व्यवस्था गर्ने सम्बन्धी कार्य योजना समेत तयार पारेको जनाएको छ ।
नेपाली कामदारहरू रहेका विश्वका विभिन्न १ सय १२ मुलुकमा गरेको अध्ययनको आधारमा समितिले ४१ मुलुकमा रहेका नेपाली कामदारहरूले मात्र कोरोनाको त्रासको कारण नेपाल फर्कने इच्छा देखाएको अध्ययनले देखाएको छ ।
कार्यदलले नेपालमा थप रोजगारी सृजना गर्ने र विदेशबाट फर्किनेहरूको दीर्घकालीन व्यवस्थापन गर्न अल्पकालीन, मध्यकालिक र दीर्घकालीन कार्य योजना समेत प्रस्ताव गरिएको कार्यदलका संयोजक योजना आयोगका सदस्य डा रामकुमार फूयालले जानकारी दिनु भयो ।
संयोजक फूयालले नेपाल फक्रन चाहनेहरू अधिकांशले नेपालमा आएर कृषि क्षेत्रलाई आफ्नो व्यावसायिक पेसा बनाउने बताएको पनि जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्