बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिकाका तीन जना पक्राउ परेका हुन् ।
पीडित पक्षले प्रहरीमा दिएको जाहेरीका आधारमा १४, १६ र १८ वर्षका तीन किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले बताउनुभयो । उहाँका अनुसार तीन जना मिलेर बालिकालाई भदौ २४ गते सामूहिक बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ ।
प्रहरी चौकी घोराखोरीको टोलीले आरोपित तीनै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र तीनमध्ये एक जनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । बालिकाको स्वास्थ्य परीक्षण पछि उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्